फडिन्द्र भट्टराई, लण्डन
पुस २९ गत बुधवार फ्रान्सको राजधानी पेरिसको एउटा पत्रिकाको कार्यालयमा ८ जना पत्रकार सहित बाह्रको ज्यान जाने गरी भएको आतंककारी आक्रमण पश्चात बेलायत तथा युरोपियन देशहरुमा उच्च सुरक्षा सतर्कता अपनाईएको छ।
बेलायतका सिमाना पोर्टहरुमा सुरक्षा जाँचलाई कडा पारिएको छ भने, प्रमुख रेल स्टेशन तथा सार्वजनिक स्थानहरुमा सुरक्षाको गस्ती बढाईएको छ। समुद्रमुनिबाट बेलायत र फ्रान्सलाई जोड्ने युरोस्टार रेलका यात्रुहरु माथिको जाँचबुझलाई पनि कडाई गरिएको छ। यस्तै पानीजहाजबाट तारिने मालबाहक गाडीहरुको चेकिङ्गलाई समेत सकृय तुल्याईएको कुरा युके बोर्डर एजेन्सीले जनाएको छ।
![]()
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमणको कडा शब्दमा भ्रत्सना गर्दै आतंकवाद सँगको लडाईमा फ्रान्ससँगको ऐतिहासिक ऐक्यबद्दताको स्मरण गरेका छन। साथै युरोप लगायत अन्य ठाउँमा रहेका अमेरिकी नियोगहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ। युरोपियन युनियन लगायत संसारका सबै जसो देशहरुले उक्त कहाली लाग्दो आक्रमणको सिधै भ्रत्सना गरेका छन भने मिडियाहरुमा आक्रमणको सवाललाई लिएर नयाँ छलफलका शृंखलाहरु प्रारम्भ भएका छन्।
बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले पत्रकारहरुमाथिको उक्त आक्रमणलाई वाक स्वतन्त्रता र प्रजातान्त्रिक मूल्य मान्यताहरु माथिकै आक्रमण भन्दै भ्रत्सना गरेका छन्। साथै फ्रान्समा सबै प्रति सहानुभूति दर्शाउदै मृतकका परिवार र आफन्तसंँग आफ्नो चिन्तन पुगेको बताएका छन। बेलायतकी महारानी एलिजाबेथले पनि मृतकहरुमा हार्दिक समबेदना प्रकट गरेकी छन्। छिमेकी देश फ्रान्समा भएको आक्रमणमा मृत्यु हुनेहरुको सम्झनामा युकेका सरकारी निकायहरुमा आजै दुई मिनेट मौन धारण समेत गरिएको छ। उस्तै प्रकारको सुरक्षा खतराको सम्भावनालाई मध्यनजर गर्दै बेलायत सरकारको आकस्मिक सुरक्षा समितिको कोब्रा मिटिङ बुधवार नै बसेको थियो।
चार्ली हेब्दो नामको व्यंग्यात्मक पत्रिकाले मुस्लिम धर्मको खिल्ली उडाएको भन्दै अतिवादी मुस्लिम बन्दुकधारीहरुले पत्रिकाको कार्यालयमा पसेर स्वाचालित हतियार मार्फत अन्धाधुन्ध गोली चलाउँदा ८ जना पत्रकार सहित बाह्र जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। पत्रिकाको कार्यालयमा यसअघि पनि तोडफोड लगायतका घटना भएका थिए। पत्रिकाको कार्यालयमा हुन् सक्ने आक्रमणको सम्भावनालाई ध्यानमा राखेर सरकारले दुईजना सुरक्षाकर्मी पहिले देखि नै तैनाथ गरेको थियो। जसलाई पनि आक्रमणकारी हरुले मारी दिएका छन्। आक्रमणपछि आफ्नै कारमा भागेका आक्रमणकारीहरु उत्तरी फ्रान्स तर्फ गएको आशंकामा ब्यापक सुरक्षाकर्मी परिचालन गरिए पनि अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
सुरक्षाको दृस्टीकोणले शक्तिशाली मानिने पश्चिमी राष्ट्रहरुमा आफ्नै देशका धार्मिक अतिवादी मुस्लिम व्यक्तिहरु बाटै भईरहेका आत्मघाती प्रकृतिका आतंककारी आक्रमण टाउको दुखाई बन्दै गईरहेको छ । सन् २००८ मा भारतको मुम्बई ताज होटलको हमला पश्चात संसार भर बढ्दै गएका यस्ता एकल प्रकृतिका आक्रमणलाई मुम्बई स्टाईल एट्याक नाम दिईने गरेको छ जुन सुरक्षा र प्रतिरक्षाको सवालमा बढी चुनौतीपूर्ण रहने गरेको छ ।






