काठमाडौं २९ पुस, । संविधान सभाको बैठक आउँदो माघ १ गतेसम्मका लागि स्थगित भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पेश भएलगत्तै बैठक स्थगित गरिएको हो ।
संवाद समितिका अध्यक्ष तथा एमाओवादी नेता डा. बाबुराम भट्टराई संविधानसभा बैठकमा उपस्थित भने भएनन् । उनको अनुपस्थितिमा संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाले संवाद समितिको प्रतिवेदन सभाध्यक्ष नेम्वाङलाई बुझाएका थिए ।
यसअघि मंगलबार विहानै डा. भट्टराईले प्रतिवेदन नेम्वाङलाई बुझाएका थिए । नेम्वाङको कार्यकक्षमा पुगेर प्रतिवेदन बुझाएलगत्तै भट्टराई फर्केका थिए ।
संविधानसभा बैठकमा एमाओवादी, मधेसी मोर्चा लगायत विपक्षी दलका कुनै पनि सभासद सहभागी भएनन् ।
प्रक्रियाबाट संविधान जारी गर्न खोजिएको विरोधमा उनीहरुले काठमाडौं उपत्यका सहित प्रस्तावित नेवाः, ताम्सालिङ र तराई-मधेसका जिल्ला बन्द आह्वान गरेका छन् ।
बन्दका कारण संविधानसभा बैठक सुरु हुन पनि केही ढिलाइ भएको थियो । पूर्वनिर्धारित समय विहान ११ बजे बैठक सुरु नभएपछि संविधानसभा भवन नयाँबानेश्वर पुगेका सभासदहरु ४५ मिनेट जति घाम तापेर बाहिरै बसेका थिए ।






