‘बबी’ समूह युकेबाट सहारालाई ५० हजार सहयोग

लन्डन । ‘बबी’ समूह युकेबाट नेपालको सहारा क्लबलाई ५० हजार रुपियाँ सहयोग प्रदान गरिएको छ । सत्य कथामा आधारित चलचित्र ’बबी’ बेलायतको विभिन्न भागमा प्रदर्शन गरेर प्राप्त मु-नाफामध्येबाट सहारालाई सहयोग प्रदान गरिएको हो ।

सहारा युकेको दशौं वर्षगांठको अवसरमा आयोजित च्यारिटी डिनर समारोहमा बबी फिल्म समूह युकेको तर्फबाट क्रिस गुरुङ, सबिन्द्र कुमार गुरुङ, सुर्य गुरुङ र शारदा गुरुङले सहारा युकेका अध्यक्ष मिन बहादुर गुरुङ (साइँला) लाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, अल्डरसट क्षेत्रका सांसद लिओ डोचेर्टीसहित अन्य अतिथिहरुको उपस्थिति थियो। साथै सहारा युकेको तर्फबाट नेपाली राजदूत डा दुर्गा बहादुर सुवदीले बबी समूह युकेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।

’बबी’ फिल्मलाई नेपालमा दर्शकहरुले अधिक मन पराएका थिए । यस चलचित्रमा एक जोडीले अन्तरजातीय विवाह गर्दा समाजमा भोग्नुपरेको कथालाई समेटिएको छ । उमेश थापा र कविता गुरुङले आफ्नै जिन्दगीमा घटेको सत्य घटनालाई आफैं नायक नायिकाको रुपमा सो चलचित्रमा प्रस्तुत भएका छन् ।

सो चलचित्रलाई बेलायतमा बबी समूह युकेले गत २३ सेप्टेम्बरबाट विभिन्न शहरहरुमा प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *