ओलीले प्रचण्डसँग भनेः तीन जिल्ला टुक्रयाउन दिन्न

काठमाडौं , २९ फागुन ।

सहमति निर्माणको लागि नेकपा एमाले र एमाओवादीबीच भएको छलफलमा संघीयतामा कुरा मिल्न नसक्दा विना निष्कर्ष टुङगिएको छ । सहमतिको लागि भन्दै कही दिनयता रुघाखोकीबाट विरामी भएर घरमै आराम गरिरहेका ओलीकै निवासमा एमाओवादीका नेताहरु छलफलको गर्न पुगेका थिए । एमाले र एमाओवादीबीच संघीयताको विषयमा कुरा मिल्न नसकेपछि एमाओवादी नेताहरु ओली निवास वालकोटबाट बाहिरिएका थिए । तीन घण्टा लामो छलफलमा पनि एमाले र एमाओवादीले आ–आफ्नै अडान दोहोर्‍याएपछि सहमति हुने सम्भावना न्यून हुँदै गएको जनाइएको छ ।

Prachanda oli

एमाओवादीका सचिव टोपबहादुर रायमाझीले एमाले सहमति मार्फत संविधान जारी गर्न नचाहेको बताए । उनले भने,‘प्रधानमन्त्री हुने व्यक्ति तीन जिल्ला टुक्राउन हुँदैन भनेर अडान राख्नुहुन्छ, देशको भन्दा पनि जिल्लाको चिन्ता भएपनि कसरी हुन्छ सहमति ?’ एमाओवादीले संघीय राज्यहरुको नाम पहिचान झल्कने रुपमा राख्नु पर्ने प्रस्ताव गर्दा एमाललेले पहिचान झल्कने नाम राख्न नहुने पुरानै अडान दोहोर्‍याएका थिए । रायमाझीका अनुसार दोस्रो ठूलो पार्टीका नेताले जिल्ला च्यापेर सहमति नहुने भएकाले अलि छाती ठूलो पार्नको लागि हामीले आग्रह गर्‍यौ, सचिव रायमाझीले नेपाली हेडलाइन्ससँग भने ।

दुवै दलका नेताहरुले आ–आफ्नो अडान राखेपछि बैठकको अन्तिममा एमालेका महासचिव ईश्वर पोखरेलले दुई अझै पनि सहमतिको प्रयास गर्ने सहमति नभए प्रक्रियालाई अगाडि बढाउने प्रस्ताव राखेपछि लौ त भनेर एमाओवादी नेताहरु बाहिरिएका थिए । छलफलमा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिग कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी र एमालेकातर्फबाट अध्यक्ष केपी ओली उपाध्यक्षद्धय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल र प्रमुख सचेतक अग्नी खरेलको सहभागीता रहेको थियो । पूर्वमा एमाले अध्यक्ष ओलीले झापा मोरङ सुनसरी कुनै पनि हालतमा टुक्रयाउन नहुने अडान राख्दै आएका छन् ।