१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेका एक व्यक्ति दोषमुक्त भएपछि आयरल्याण्डमा सेक्सका लागि सहमतीको मुद्दाबारे विभिन्न स्थानमा विरोध भइरहेको छ ।
मुद्दाको सुनुवाईको क्रममा बचाउ पक्षका वकिलले अदालतमा भनेका थिए, ‘तपाईंले उसको पोशाकलाई पनि हेर्नुपर्छ । उनले थोंग (एक प्रकारको भित्रि वस्त्र जसलाई अण्डरवेयरको रुपमा वा स्विमसुटको रुपमा लगाइन्छ) लगाएकी थिइन् जसको अगाडि फित्ता थियो ।’
अदालतले २८ वर्षे अभियुक्तलाई दोषी पाएन ।
अदालतको निर्णयमा विवाद भएपछि ‘रेप पीडितमाथि नै आरोप लगाइने’ प्रचलनविरुद्ध आवाज उठाउनका लागि आयरल्याण्डकी एक महिला सांसदले सदनमा अण्डरवेयर नै लिएर पुगिन् ।
सांसद रुथ क्याम्पिगरले संसदमा निलो रंगको फित्ता भएको अण्डरवेयर देखाउँदै भनिन्, ‘यहाँ थोंग देखाउनु लज्जाको कुरा हुनसक्छ । तपाईंले एकपटक सोच्नुपर्र्छ कि जब एक महिलाको अण्डरवेयरलाई अदालतभित्र देखाइयो तब उनलाई कस्तो महसुस भएको थियो होला ।’
यो ममलाबारे सबैभन्दा पहिले नोभेम्बर ६ तारिखमा आइरिश एक्जामिनर पत्रिकाले रिपोर्ट प्रकाशित गरेको थियो ।
अभियुक्तले उनी र पीडितबीच आपसी सहमतीमा सम्बन्ध स्थापित भएको बताएका थिए ।
वकिलको तर्कपछि विवादः
तर वकिल एलिजाबेथ ओ–कोनेलले दिएको तर्कबारे सोसल मिडियामा निकै विवाद भएको छ ।
एक्जामिनरको रिपोर्ट अनुसार उनले सोधिन्, ‘यहाँ दिइएका प्रमाणले प्रस्ट बताउँछ कि उनी अभियुक्तप्रति आकर्षित थिइन् र कसैलाई भेट्न र सँगै बस्नका लागि सहमत थिइन् ।’
वकिलले न्यायाधिसलाई भनिन्, ‘तपाईंले यहाँ ती किशोरीले कस्तो लुगा लगाएकी थिइन् भनेर पनि हेर्नुपर्छ । उनले थोंग लगाएकी थिइन् जसको अघिल्तिर फित्ता थियो ।’
यो मामलाबारे पत्रिकामा रिपोर्ट प्रकाशित भएको भोलिपल्टै डबलिन रेप क्राइसिस सेन्टरकी प्रमुखले अधिवक्ताको बयानको आलोचना गरेकी थिइन् ।
यद्यपी, उनले निर्णयको आलोचना भने गरिनन् तर यस्ता टिप्पणी बारम्बार गरिरहने हुँदा कानूनी प्रक्रियामा सुधारको माग भने गरेकी छिन् ।
यसैबीच आयरल्याण्डका जनताले यस विषयबारे सोसल मिडियामा तिखो टिप्पणी गरेका छन् ।
#ThisIsNotConsent सहित धेरैले ट्वीट गरेका छन् । धेरै महिलाले आफ्नो अण्डरवेयरको तस्बिर पनि पोष्ट गरेका छन् ।
अदालतमा यस्तो प्रकारको तर्क दिएको विरोधमा उनीहरु आफ्नो अण्डरवेयरको रंग र साइज देखाइरहेका छन् ।
अदालतमा अण्डरवेयर देखाइएको विषयमा सांसद कोपिंगरले न्यायाधिस र जुरीका सदस्यलाई यसबारे प्रशिक्षण दिनुपर्ने माग गरेकी छिन् ।
यसै वर्ष उत्तरी आयरल्याण्डमा बलात्कारको एक मुद्दामा रग्बीका दुई चर्चित खेलाडीलाई दोषमुक्त गरिएको थियो ।
अदालतको सुनुवाई सार्वजनिक भएपछि आयरल्याण्ड र उत्तरी आयरल्याण्डमा ब्यापक प्रदर्शन भएको थियो ।
एजेन्सी






