लण्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतीको भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो।
मन्त्री अधिकारीको राहदानी संकलन गर्न काठमाडौंस्थित भिएचएफ कार्यालय पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीलाई च्यातिएको र रातोमसीले क्रस गरेर भिसा थमाए पछि उनको बेलायत भ्रमण प्रभावित हुन पुगेको हो।
भिसा रद्द भएको अवस्थामा भेटे पछि यस बिषयमा यथार्थ बुझ्न मन्त्रालयका कर्मचारीले ललितपुर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले काठमाडौँ स्थित भिसा वितरक सस्था भीएचएफ गोलोवलको अफिस पुगेर मुचुल्का उतारेको थियो। शुरुमा मुचुल्कामा हस्ताक्षर गर्न नमानेका भीएचएफका कर्मचारीलाई प्रहरीले कानुनी दयारामा ल्याउने चेतावनी दिए पछि गल्ति स्वीकार गर्दै हस्ताक्षर गरि आइतवार सम्म पुन : अर्को भिसा इसु गर्ने बचन दिएका थिए।
मन्त्रालय स्रोतका अनुसार मन्त्री अधिकारी बाहेक अन्य कर्मचारीले बिहिवार नै भिसा हात पारेका थिए। मन्त्रीको भिसा नआए पछि मन्त्रालयका कर्मचारी बिहानै देखि भीएचएफको कार्यालयमा भिसा कुरेर बसेका थिए। नोभेम्वर १ मा जारि गरिएको अधिकारीको भिसा किन रातोमसीले क्रस गरिएको हो भन्ने अझै प्रष्ट हुन सकेको छैन।






