सुदूरपश्चिम नटुक्र्याउने सहमति

कञ्चनपुर, २७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले तीन ठूला दलबीच सुदूरपश्चिम नटुक्र्याउने सहमति भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले नेता देउवाले नेपाली काँग्रेस, एमाले र एमाओवादीबीच पहिलो संविधानसभा अघि नै कैलाली–कञ्चनपुरलाई सुदूरपश्चिमबाट नटुक्र्याउने सहमति समेत भइसकेको खुलासा गर्नुभयो ।
काँग्रेस सभापति सुशील कोइराला, एमाले वरिष्ठ नेता झलनाथ खनाल र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सुदूरपश्चिमका तराईका जिल्ला सेती, महाकालीमै राख्ने सहमतिमा हस्ताक्षर भएको नेता देउवाले बताउनुभयो । सङ्घीयताको विवादका कारण दलहरूबीच सहमति हुन नसकेको उहाँको भनाइ छ ।
नेपाली काँग्रेस सहमतिकै पक्षमा रहेको बताउँदै नेता देउवाले सहमतिबाट संविधान बन्ने अवस्था नआए प्रक्रियामा गएर भएपनि जेठ १५ मा संविधान जारी गरेरै छाडिनेछ भन्नुभयो ।
काँग्रेस–एमाओवादी मिलेर नयाँ सरकार गठन गर्ने कुरा बाहिर आएको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले नयाँ सरकार गठन गर्ने र नेकपा (एमाले)ले सरकार छाड्ने कुरा हल्ला मात्रै भएको बताउनुभयो । अर्को एक फरक प्रसङ्गमा नेता देउवाले सबैले सहयोग गरे पार्टीको आगामी १३औँ महाधिवेशनबाट पार्टी सभापतिमा उठ्ने बताउनुभयो । “तपाईंहरूले मलाई सभापतिका लागि अघि सारे म सभापतिका लागि उठ्छु”–नेता देउवाले भन्नुभयो ।