काठमाडौं, फाल्गुन २७ । सन् २०१८ को विश्वकप र सन् २०१९ को एसिया कप फुटबलको प्रारम्भिक छनोट चरणको पहिलो खेलमा बिहीबार नेपालले चिरपरिचित प्रतिस्पर्धी भारतसँग खेल्दैछ । खेल बिहीबार बेलुकी सवा ७ बजे गुवाहाटीको इन्दिरा गान्धी रंगशालामा हुँदैछ । नेपालका मुख्य प्रशिक्षक ज्याक स्टेफानोवस्कीले टिम जितका लागि आतुर रहेको बताएका छन् ।
खेलपूर्वको पत्रकार सम्मेलनमा बोल्दै स्टेफानोवस्कीले यो खेलका लागि साढे दुई हप्तादेखि खेलाडीहरुले कठीन प्रशिक्षण लिएको भन्दै जित आफ्नै पक्षमा आउने ठोकुवा गरे । स्टेफानोवस्कीले साफ च्याम्पियनसिपमा नेपालले भारतमाथि निकालेको २–१ को विजयी नतिजालाई दोहोर्याउने बताए । कप्तान सागर थापाले भारतको फुटबल सिजन राम्रो भएपनि आफूहरु शारीरिक र मानसिक रुपले तयार रहेको जनाए ।
भारतका प्रशिक्षक सन् १९९९ देखि २००१ सम्म नेपाललाई प्रशिक्षण दिइसकेका स्टेफेन कन्स्टेन्टाइन हुन् । स्टेफेनले नेपालसँगको सम्झना ताजै रहेपनि यतिबेला आफ्नो कर्तब्य भारतलाई दोस्रो चरणमा पुर्याउनु रहेको प्रतिक्रिया दिएका छन् । सन् १९८५ को दोस्रो दक्षिण एसियाली खेलकुदमा पहिलोपटक आमने–सामने भएका नेपाल र भारतबीच अहिलेसम्म १५ खेल भएकामा नेपालले दुई जितमात्र आत्मसात् गरेको छ ।
नेपाल भारतसँग भिड्दै






