लण्डन । विजया दशमीको सातौं दिन बेलायतको नेपाली मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । लण्डनको प्लम्ष्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा आयोजित विधिपूर्वक फूलपाती भित्र्याइएको हो । फूलपाती मन्दिरमा भित्र्याउनुअघि पुजारीहरुले फूलपाती डोलीमा चढाएर शंख , घण्ट बजाउंदै मन्दिर परिक्रमा गराएका थिए । 
मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, ट्रस्टी तथा स्थानीय नेपाली भक्तजनहरु पनि उक्त अवसरमा सहभागी थिए । विधिपूर्वक मन्दिरमा फूलपाती भित्र्याइसकेपछि सहभागीहरुले झण्डै ३ घण्टासम्म मन्दिरमा भजनकृतन र नाचगान गरेका थिए ।
सोहि अवसरमा नेपालबाट आएका पण्डित अनन्त भट्टराईले पशुपतिनाथ मन्दिरलाई वेदको पुस्तक हस्तान्तरण गरेका थिए । यसअघि नवदुर्गाको आरम्भसंगै मन्दिरमा पण्डितहरु निलहरि घिमिरे, दधिराम काफ्ले लगायतको विशेष सक्रियतामा दैनिक नवदुर्गा पूजा, चण्डी पाठ र आरती लगायतका कार्यक्रम हुंदै आएका छन् । शुक्रबार विजया दशमीको दिनमा पनि मन्दिरमा सामुहिक टिका जमरा वितरण गर्ने कार्यक्रम राखिएको छ।मन्जु भण्डारीले तयार पारेको स्थलगत भिडियो रिपोर्ट:






