लण्डन । बेलायतबाट सञ्चालित नेपाली मिडियाहरुको सुचीमा एक थप भएको छ, रेडियो नेपाली । नौलो सोंच र अवधारणाका साथ सञ्चालन गर्ने लक्ष्य राखिएको रेडियो नेपालीको विहिबार लण्डनमा एक समारोहकाबीच उद्घाटन गरिएको छ ।
बेलायतमा बस्दै आएका दुई जुझारु मिडियाकर्मी युवाको पहलमा रेडियो नेपाली सुरु भएको हो । सुशील प्रजापति संस्थापक र गणेश खड्का सहसंस्थापकको रुपमा रहेर रेडियो नेपालीलाई सञ्चालनमा ल्याइएको हो ।
वुल्वीचको फयुजन रेष्टुरेन्टमा आयोजित उद्घाटन समारोहमा रेडियो नेपालीका संस्थापक सुशिल प्रजापति, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल र नेप्लिज नर्सिङ एशोसिएसन यूके अध्यक्ष प्रसुना कंडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा संस्थापक सुशील प्रजापतिले बेलायतको नेपाली समुदायमा एक सशक्त मिडियाको रुपमा स्थापित हुने लक्ष्यका साथ रेडियो नेपालीको सुरुआत् गरिएको बताए । अहिले अनलाइन न्यूज पोर्टल र भिडियो कार्यक्रमहरुबाट सुरु हुने रेडियो नेपालीको कार्य भविष्यमा क्रमिक रुपमा बिस्तार गर्दै जाने लक्ष्य समेत प्रजापतिले सुनाए ।
सहसंस्थापक गणेश खड्काले बेलायतमा रहेका अधिकांश नेपाली मिडियाहरु व्यवसायिक र दिगो रुपमा सञ्चालन हुन नसकेको अवस्थामा त्यहि अभावलाई पूर्ति गर्ने लक्ष्यका साथ आफुहरुले नयां मिडिया सञ्चालनमा ल्याएको बताए ।
विशेषत युवाहरुलाई लक्षित गरेर कार्यक्रम र समाचारहरु उत्पादन तथा प्रसारण गर्ने योजना रहेको उनले जनाए ।
समारोहमा नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष तथा नेपालीपत्रका सम्पादक ध्रुबराज अर्यालले नौलो भिजन र उत्साह बोकेर नयां मिडियाहरु सञ्चालनमा आउनु सुखद रहेको बताए । बेलायतमा स्थापना भएका धेरैजसो नेपाली मिडिया टिकाउ बन्न नसकेको स्मरण गराउंदै अर्यालले क्षमता हुने र कामप्रति लगाव राख्न सक्नेहरुलाई भने प्रशस्त अवसर रहेको अनुभव सुनाए ।
बुद्धिजिवी बोजराजले रेडियो नेपालीको अवधारणा राम्रो रहेको भन्दै विगतमा स्थापना भएका अरु नेपाली मिडियाहरुको अनुभवलाई पाठका रुपमा लिएर अघि बढ्न सुझाव दिए ।
उद्घाटन समारोहमा रेडियो नेपालीलाई शुभकामना दिन बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधी, मिडियाकर्मी र युवाहरु गरी झण्डै ३ दर्जनको उपस्थिति थियो ।






