काठमाडौँ, २५ फागुन । बारा सदरमुकाम कलैया–८ की छ वर्षीया पूजा साहको निधनको घटनालाई लिएर विभिन्न राजनीतिक दल निकट महिला सङ्घसङ्गठनले आपत्ति जनाएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले बालिका बलात्कृत हुनाले देशको प्रतिष्ठा झुकेको बताउँदै भन्नुभयो— “यो बालअधिकार र मानव अधिकारका लागि दःखद् घटना हो ।” उहाँले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
नेपाल महिला सङ्घका अध्यक्ष डा डिला सङ्ग्रौलाले सात वर्षदेखि ७० वर्षसम्मका महिलामाथि बलात्कार हुनु दुःखद हो भन्दै यस्ता बलात्कारीलाई सर्वस्वहरण गरी कारबाही गर्नुपर्ने बताउनुभयो । एनेकपा (माओवादी) निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीका अध्यक्ष अमृता थापाले देशका आफूहरुमाथि हुने कुनै पनि दमनमा महिला चुप लागेर बस्न नसक्ने बताउनुभयो ।
यसैगरी अन्तर पार्टी राष्ट्रिय सञ्जालका अध्यक्ष एवम् नेपाली काँग्रेस महिला विभाग प्रमुख मीना पाण्डेले विज्ञप्ति निकाली मुलुकभरका महिला तथा बालबालिकामाथि भएको हिंसा र अपराधको वर्तमान अवस्थामा सुरक्षा व्यवस्था मजबुत बनाई शान्तिपूर्ण जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।
बलात्कृत बालिकाको मृत्यु






