काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीमा सहमति जुटिसकेकाले आगामी जेठ १५ अगाडि नै संविधान बन्ने बताउनुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उहाँले सहमतिबाटै संविधान निर्माण गर्ने पक्षमा एमाले रहेको बताउँदै भन्नुभयो, “विवादित जिल्लाका विषयमा सङ्घीय आयोग बनाएर भए पनि देशलाई चाँडोभन्दा चाँडो निकास दिनुपर्छ ।”
नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले वार्ता प्रारम्भ भइसकेको वर्तमान अवस्थामा यसलाई त्यत्तिकै खेर फाल्न नहुने बताउनुभयो । सडकबाट संविधान आउन नसक्ने भन्दै उहाँले शान्ति प्रक्रियाका घटकहरू एक ठाउँमा उभिएर सहमतिका आधारमा संविधान निर्माण गर्न विपक्षीलाई आग्रह गर्नुभयो । सहमतिलाई टुट्न नदिन विवादित पाँच जिल्लालाई वार्ताको माध्यामबाटै टुङ्याउनुपर्ने उहाँले बताउनुभयो । विपक्षी मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सत्तापक्षले बहुमतको दम्भ त्याग्नुपर्ने बताउनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्तापक्षको दुई तिहाइको घमण्डले गर्दा संविधान नबनेको गुनासो गर्नुभयो ।
‘संविधानसभालाई विघटन हुन दिनु हुँदैन’






