राप्रपा नेपालको समानान्तर समिति

काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सुदृढीकरण अभियानले समानान्तर पार्टी समिति स्थापना गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक पद्मसुन्दर लावतीले पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्रलगायत सैद्धान्तिक धरोहरमा गलत तरिकाले परिवर्तन गर्न खोजेको र निष्ठावान् कार्यकर्ताले अध्यक्ष थापालाई सुध्रन अवसर दिँदा पनि त्यसो हुन नसकेको आरोप लगाउँदै आफ्नो अध्यक्षतामा १६४ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो ।
उहाँले पार्टीको विधान २०४८ बमोजिम समानान्तर रुपमा केन्द्रीय कार्य समिति गठन गरिएको र केन्द्रदेखि जिल्ला, क्षेत्र, गाउँ र वडासम्म सङ्गठन विस्तार तथा विभिन्न जनवर्गीय सङ्गठन, विभाग र समिति चाँडै निर्माण गरिने बताउनुभयो ।
नवगठित समितिका सहअध्यक्षमा गणेश शेरचन तथा उपाध्यक्षमा दिलविकास राजभण्डारी, प्रल्हाद साह, सत्यमान लामा, सोनेलाल यादव, रमा थापा र रुपसिंह थापा, महामन्त्रीमा श्याम तिमिल्सिना, बालकृष्ण नेउपाने र रामु राई तथा कोषाध्यक्षमा तीर्थप्रसाद श्रेष्ठ र प्रवक्तामा सगुनसुन्दर लावती हुनहुन्छ ।
दोस्रो संविधानसभाको चुनावपछि पार्टीका अध्यक्ष थापाले कार्यकर्ता पङ्क्तिको माग र धैर्यलाई उपेक्षा गरी एकपक्षीय रुपमा सभासद् नियुक्त गरेको तथा पार्टीको घोषित अडानविपरीत गणतन्त्रको कित्तामा उभिएको आरोप लगाउँदै लावती समूहले साउन महिनादेखि अभियान सञ्चालन गरेको थियो ।