अष्ट्रेलियाको वृद्धाश्रममा काम गर्ने नेपालीले ८२ वर्षे वृद्धमाथि दुर्व्यवहार गरेको खुलासा

एक नेपालीले अष्ट्रेलियाको सिड्नीस्थित एक वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि कुटपिट र अमानवीय व्यवहार गरेको खुलासा भएको छ ।

३५ वर्षे प्रकाश पौडेलले बुपा एज्ड केयर सिफोर्डमा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तानेको भिडियो सार्वजनिक भएको छ ।

पुलिसले उक्त दुर्व्यवहारको भिडियो सार्वजनिक गरेको छ ।

ती वृद्धले परिवारका सदस्यलाई आफूमाथि दुर्व्यवहार भइरहेको जानकारी दिएपछि उनको कोठामा सिसिटिभी जडान गरिएको थियो ।

आइडा सिलिन, पीडितकी छोरी बुवामाथिको दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त बनाएको बताउँछिन् । ‘बुवाको शरिरमा निलडाम देखेपछि मैले सिसिटिभी क्यामरा राखेकी हुँ,’ उनले भनिन् ।

वृद्धको कोठामा क्यामरा जडान गर्नु अवैधानिक भएपनि उनीमाथि भइरहेको दुर्व्यवहारबारे पत्ता लगाउन यही एउटा माध्यम भएको पुलिसले बताएको छ ।

दुर्व्यवहार गर्ने पौडेलमाथि दुइवटा मुद्दा चलाइएको छ । एउटा घरेलु हिंसा र अर्को आपत्तिजनक हतियारको प्रयोग ।

भिडियो सार्वजनिक भएपछि पौडेललाई बुपाबाट निकालिएको छ । पुलिसका अनुसार अगस्ट २६ देखि २९ तारिखका बीच पौडेल पटकपटक ती वृद्धको कोठामा प्रवेश गरेका छन् ।

उनलाई सशर्त जमानत दिइएको छ र सेप्टेम्बर ११ तारिखमा म्यान्ली लोकल कोर्टमा उपस्थित हुनुपर्नेछ ।

नदर्न बिचेज पुलिस एरिया कमान्डका डिटेक्टिभ इन्स्पेक्टर गाय म्यागिले वृद्धलाई दुर्व्यवहार गर्नु कायरता र लज्जास्पद बताएका छन् ।

‘न्यू साउथ वेल्समा वृद्धवृद्धामाथिको दुर्व्यवहारका कमै रिपोर्ट दर्ता हुन्छन्,’ उनले भने ।

‘हाम्रो अनुसन्धानले ५० हजार वृद्धवृद्धाले आफ्नो जीवन कालमा हिंसाको सामना गर्ने गरेको बताउँछ । पीडित स्वयं वा उनीहरुलाई परिवारले यस्तो घटना सार्वजनिक गर्न आग्रह गर्छौं ।’

पौडेलको दुर्व्यवहारको भिडियो नेपालको सोसल मिडियामा पनि सार्वजनिक भएको छ । उक्त भिडियो थुप्रैले सेयर गर्दै उनलाई निकै गाली गरेका छन् ।

एजेन्सी