लण्डन । बेलायतमा नेपालीहरुको सबैभन्दा जेठो संस्था यति नेपाली एसोसियशनले आगामी अक्टोबर २८ मा एक च्यारिटी कार्यक्रम गर्ने भएको छ । नेपालका बिकट जिल्लाहरुका असहाय बालबालिकाहरुको शिक्षा र स्वास्थ्य क्षेत्रको सहयोगका लागि गर्न लागिएको च्यारिटी रात्रीभोजमा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल प्रमुख अतिथि र नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी बिशेष अतिथि रहने एसोशिसयनले जनाएको छ ।
अस्ती बिहीबार साँझ पश्चिम लण्डनका गोल्डेन सिप रेस्टुराँमा एक पत्रकार सम्मेलन गर्दै यतीले उक्त च्यरिटी कार्यक्रमको बिस्तृत खाका सार्बजनिक गरेको हो । ‘अन्ध्यारोबाट उज्यालो तर्फको यात्रा’ नाम दिइएको उक्त च्यारिटी कार्यक्रममा प्रसिद्द हास्य कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र नृत्याङगना मरिस्का पोखरेलका आ-आफ्ना प्रस्तुतिहरु रहनेछन् ।
एसोशियसनका पूर्व अध्यक्ष मोक्तान संयोजक रहेका समितिमा ध्रुव केसी, शशीधर नेपाल, शर्मिला सिंह र राजु थापा रहेका छन् । ग्रीनफोर्ड टाउन हलमा हुने च्यारिटी कार्यक्रमलाई एनआरएनए यूकेको सहयोग रहनेछ ।
त्यस्तैगरी यतीले पत्रकार सम्मेलनमार्फत आफ्ना अन्य केही भावी कार्यक्रमहरु सार्बजनिक गरेको छ । जस अन्तर्गत आजसम्म खेलाउँदै आएको यती फूटबल प्रतियोगितालाई त्यागेर बेलायतको नेपाली समुदायमा पहिलो पटक लन टेनिस प्रतियोगिता गर्ने भएको छ । आगामी सेप्टेम्बर ९ मा वेम्ब्लीको सड्वरीमा हुने प्रतियोगितामा भेटरन र नन भेटरन गरी दुई समुहमा बिभाजन गरी खेलाइने र बिजेता र उपबिजेताहरु नगद पुरस्कार, मेडल र ट्रफी प्रदान गरिनेछ ।
संस्थाका अन्य भावी कार्यक्रमहरुमा आगामी अक्टोबर १७ मा गोल्डेन सिप रेस्टुराँमा दशैं भेटघाट कार्यक्रम र अक्टोबर २८ को च्यारिटी कार्यक्रम पश्चात महाधिबेशन गर्ने योजना रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ यूकेका बिमला सेने, दिनेश परियार, सिद्दार्थ बिक्रम क्षेत्री र खुशी लिम्बु साथै संस्थाका कार्यबाहक अध्यक्ष शशीधर नेपाल, महासचिब बाचस्पती रेग्मी, बरिस्ठ सल्लाहकारहरु ध्रुव केसी, राजु थापा लगायत कार्यसमितिका अन्य सदस्यहरुको उपस्थिति थियो ।






