काठमाडौं– भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुकले नेपालको सुन्दर र ऐतिहासिक शहरमा आउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।
विनाशकारी भूकम्प भोगेको अवस्थामा पनि यस्तो भब्य सम्मेलन गरेको भन्दै उनले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंशा गरे ।
शान्ति र स्थिरता बिना सम्बृद्धि सम्भव हुन नसक्ने भन्दै उनले आजको समयमा बिमस्केट अत्यत्य महत्वपूर्ण भएको धारणा राखे ।
उनले भने, ‘डेढ अर्ब जनङ्ख्या र विश्वको अर्थतन्त्रको २२% अर्थतन्त्र रहेको यो क्षेत्रको महत्व छुट्टै रहेको छ । हामीले क्षेत्रीय डिजिटल कनेक्टेभिटिलाई प्रबद्र्धन गर्नुपर्छ । बलियो डिजिटल सम्पर्कले मात्र जनताबीचको सम्पर्क बलियो बनाउँछ । हामी जस्तो भूपरिवेष्ठित राष्ट्रलाई यसको झनै आवश्यकता रहेको छ ।’
बङ्लादेशले दोस्रो विमस्टेक सम्मेलनमा राखेको सास्कृतिक सम्मेलनको प्रस्ताव भुटानले स्वीकार गर्ने बताउँदै उनले विमस्टेकको लक्ष्यमा आफूहरु पूर्ण प्रतिबद्ध रहेको पनि बताए ।
अगस्ट १ मा भुटानको सरकारले आफ्नो कार्यकाल पुरा गरेकाले संविधान अनुसार ९० दिन भित्र निर्वाचन गरेर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले त्यही अन्तरिम सरकारको प्रतिनिधिको रुपमा आफू चयन बताए ।
उनले आफ्नो नेतृत्वमा आगामी अक्टोबरको अन्तिम सम्ममा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने गरी काम गरिरहेको पनि बताए ।






