सिड्नी । तामाङ सोसाईटी अफ् सिड्नीले सोनाम ल्होछार भव्य रुपमा मनाउने भएको छ ।ल्होछारको अवसरमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको समाजले यसवर्ष पनि २८ जनवरी शनिवारका दिन विशेष सांस्कृतिक कार्यक्रम २०२३ का साथमा मनाउन गईरहेको तामाङ सोसाईटी सिड्नीका अध्यक्ष सुनदोर्जे तामाङले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
“कोरोना महामारीका कारण विगत २ वर्ष हामीले ल्होछारको कार्यक्रम गर्न सकेनौँ तामाङले भने, यसवर्ष तामाङ समुदायको धर्म, संस्कृति र भेषभूषा जोगाई राख्न बृहत सांस्कृतिक कार्यक्रम सहित अन्य मौलिकता झल्किने कार्यक्रमहरु गर्दैछौँ ।”
कार्यक्रममा राष्ट्रिय कलाकारहरु विशाल काल्तान, दिल तामाङ, सुमिना लो लगायत अन्य स्थानीय कलाकारहरुको सागींतिक प्रस्तुतीसगैं लामा पुजा, कल्चरल डान्स, नृत्य र गायनका कार्यक्रमहरु, नेपाली खानाका परिकार लगायतका अन्य विविध मनोरञ्जनात्मक कार्यक्रहरु रहने तामाङले जानकारी दिए ।
कार्यक्रममा नेपाली दूताबासका प्रतिनिधि, महावाणिज्यदूत लगायतका अन्य विशिष्ट अतिथिहरुको आतिथ्यता रहने बताईएको छ । २००९ देखि निरन्तर ल्होछार कार्यक्रम गर्दै आएको समाजले कोरोना महामारीका कारण विगत २ वर्ष औपचारिक कार्यक्रम गर्न सकेको थिएन ।
कार्यक्रमलाई दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका छन् । तामाङ समुदायको मात्रै नभएर सबैको साझा पर्व रहेकाले कार्यक्रममा उपस्थित हुन उनले सबैसगं अनुरोध समेत गरेका छन् ।






