सरकारले सोध्यो टेलिकमकी प्रबन्ध निर्देशकलाई ७२ घण्टे स्पष्टिकरण

काठमाडौँ – नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टिकरण सोधेको छ ।

कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्पष्टिकरण सोध्ने निर्णय गरेको हाे ।

‘राजभण्डारीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने बताउनुभएको थियो,’ सूचना तथा सञ्चार प्रविधि मन्त्रालय स्रोतले भन्यो, ‘तर उहाँले आफ्नो प्रतिबद्धता पूरा गर्न सक्नुभएन । टेलिकम झन् धरासयी बन्दै गएको छ । त्यही भएर स्पष्टिकरण सोधिएको हो ।’

राजभण्डारीलाई सरकारले स्पष्टिकरण सोधेको यो दोस्रो पटक हो । यसअघि गत वैशाखमा पनि सरकारले भण्डारीलाई स्पष्टिकरण सोधेको थियो । त्यसअघि अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए ।

त्यतिबेला प्रधानमन्त्री ओलीले राजभण्डारीलाई बोलाएर टेलिकमले काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेको बिषयमा प्रष्टिकरण सोधेका थिए ।

त्यसलगत्तै उनको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै सरकारले उनलाई सात दिने स्पष्टिकरण सोधेको थियो ।

२०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् । उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् । उनी टेलिकमको पहिलो महिला प्रबन्ध निर्देशक हुन् ।