राजपा नेताहरूले भने : संशोधनपछि मात्र सरकार परिवर्तन
तपाईं प्रधानमन्त्री भएका वेला नै संविधान संशोधन विधेयक पारित हुनुपर्छ । यो बीचमा सरकार परिवर्तन गर्नेजस्ता अन्य विषयहरू कसरी अगाडि बढ्न सक्छन् ? संविधान संशोधनका लागि तपार्इंजतिको सजिलो प्रधानमन्त्री हामीलाई अरू हुन सक्दैनन् । संविधान संशोधन नभई अन्य विषय अगाडि बढाउने गरी अब हामी संसद् चल्न दिँदैनौँ । कहिले महाअभियोग प्रस्ताव कहिले सरकार परिवर्तनजस्ता विषयहरू आइरहेका छन्, हामीलाई यी विषयभन्दा पनि संविधान संशोधन पहिले चाहिएको छ । तपार्इंहरूको सरकारको नेतृत्व हस्तान्तरणको भद्र सहमति पालना गर्नुहोस्, तर त्यसअघि नै संविधान संशोधन गर्नुहोस् ।
राजपा नेताहरूलाई प्रधानमन्त्रीको जवाफ
सरकारले संविधान संशोधन प्रस्ताव दुईतिहाइसहित पारित गराउन अधिकतम कोसिस गरिरहेको छ । सरकारबाट बाहिरएको राप्रपालाई पनि साथमै लिने र अन्य पक्षलाई पनि मिलाएर पारित गराउने कोसिसमा सरकार छ । ४ जेठमा संसद् बस्दै छ । त्यो बैठकमा संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने गरी सरकारले गृहकार्य गरिरहेकै छ । संविधान संशोधन र निर्वाचन कसरी सहमतिका आधारमा गर्ने भनेर नै हामी यसरी पटक–पटक छलफलमा बसिरहेकै छौँ । सरकार ४ जेठमै संशोधन अगाडि बढाउन तयार छ, पारित गराउन पनि कोसिस जारी छ । बरु तपार्इंहरू तयार हो कि होइन ?
कांग्रेस नेता के भन्छन् ?
‘जनताले उत्साहका साथ स्थानीय तहको निर्वाचनमा भाग लिएका छन् । दोस्रो चरणको निर्वाचन पनि उत्साहजनक रूपमा गर्नुपर्छ । यसका लागि संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यसलाई पारित गरेर निर्वाचन सफल पार्न लाग्नुपर्छ । यसअघिदेखि नै माओवादी र हामीबीच स्थानीय तहको निर्वाचनपछि सरकार फेर्ने सहमति हो । अब प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि संवैधानिक प्रक्रियाअनुसार अघि बढ्छौँ । संविधानमा नै १५ जेठमा बजेट ल्याउनैपर्ने मिति उल्लेख भएकाले बाध्यात्मक अवस्था छ । अब प्रधानमन्त्रीले राजीनामा दिएपछि कामचलाउ सरकारले बजेट ल्याउँछ ।’ -ज्ञानेन्द्रबहादुर कार्की, नेता






