काठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाले टर्किस एयरलाइन्सको जहाज दुर्घटनाका कारण त्रिभुवन विमानस्थल बन्द हुँदा अलपत्र परेका सम्पूर्ण यात्रुहरुलाई अन्तरार्ष्ट्रिय नियमानुसार सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीलाई निर्देशन दिएका छन्। सो जहाजबाट यात्रुहरुलाई सकुशल उद्दार गरी आफू पनि बाहिर निस्कन सफल चालक दलका सदस्यहरुलाई उनले धन्यवाद ज्ञापन गरेका छन्।
उद्दारमा संलन सेना, प्रहरी एवं अन्य सरोकारवाला कर्मचारीलाई पनि उनले धन्यवाद दिएका छन्।
प्रधानमन्त्री कोइरालाले यात्रु एवं चालक दलका सदस्यहरूको मनोवैज्ञानिक एंव भौतिक सुरक्षाको लागि अन्तराष्ट्रिय हवाई उड्ड्यनको नियमानुसारका काम अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री कोइरालाले एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थलका कारण नेपालको हवाई उडानमा पर्न गएको असुविधालाई समेत मध्यनजर गरी वैकल्पिक अन्तरार्ष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तदारुकता दिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्। दुर्घटनाग्रस्त विमान हटाउने कार्यमा भारत सरकारको तर्फबाट तुरुन्त प्राप्त भएको सहयोगका साथै अन्य निकाय र व्यक्तिहरुबाट प्राप्त सहयोगप्रति उनले धन्यवाद ज्ञापन गरेका छन्।






