खोटाङ- नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ ।
उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो ।
नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला चौहान गम्भीर घाइते हुनुभएको छ । उहाँको दुवै खुट्टा डढ्नुका साथै चोट लागेको उम्मेदवार चौहानका भतिज दानबहादुर चौहानले बताउनुभयो । शकुन्तलाको दाहिने खुट्टाको फिलामा समेत गहिरो चोट लागेको छ । पहिलोपल्ट हानिएको बम विस्फोट नभएपछि तत्काल दोस्रो बम हानिएको स्थानीयवासीले बताएका छन् ।






