चितवनको मुग्लिन र तनहुँको बेनिटार जोड्ने गरी आर्क ब्रिजको निर्माण कार्य आगाडि बढिरहेको छ । करिब १४ करोड लागतमा निर्माणाधीन आर्क ब्रिज १ सय २० मिटर लामो हुनेछ । ‘यसको लुक राम्रो हुनेछ, बीचमा पिल्लर राख्नु पर्दैन,’ पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापा भने, ‘त्यसका लागि वारिपारि दुई छेउमा सपोर्ट हुनेछ ।’ यो पुलमा फलाम कम प्रयोग हुने र आरसीसी प्रयोग बढी हुने उनले बताए । ‘लामोमा यो नै पहिलो आर्क ब्रिज हो,’ थापाले भने, ‘सात वर्षअघि चोभारमा बनेको यस्तै पुलको लम्बाइ ६० मिटर थियो ।’
मुग्लिनमा अहिले प्रयोगमा रहेको पुल सन् १९७२/७३ मा बनेको हो । १९७४ मा चीन सरकारले पुल हस्तान्तरण गरेको थियो । ‘पुरानो पुलले धेरै समस्या दियो, २०५० सालमा काठ फेरियो तर १० वर्ष पनि टिकेन,’ थापाले भने, ‘दिनहुँ समस्या आउन थाल्यो, जहाँ तहीं भ्वाङ पर्न थाल्यो ।’ यो पुल भएर दैनिक ७ हजार सवारी साधन गुड्छन् ।
सामान्यतया एउटा पुलको आयु ७०–७५ वर्ष हुन्छ, तर ओभरलोडले गर्दा आयु घट्ने गरेको छ । यो पुल निर्माणको जिम्मा एड्भेन्चर कन्स्ट्रक्सनले लिएको छ । असारमै यसको निर्माण सकिनुपर्ने भए पनि भारतबाट समयमै फलाम नआइपुग्दा ढिलो भएको कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक मोतीलाल शर्माले बताए ।






