एनआरएनए युकेले चेली आइना बार्कालाई सम्मान गर्ने

लण्डन । स्पेनमा जन्मेर नेपालमा सुस्तमनःस्थिति या बौद्धिक अपाङ्गता भएका र समाजमा उपेक्षित बालबालिकाको शिक्षादीक्षामा महत्त्वपूर्ण योगदान गर्दै आएकी चेली आइना बार्कालाई एनआरएनए युकेले सम्मान एवं सहयोग गर्ने भएको छ ।

‘फेमिलिया दी हेटौँडा’ नामक संस्थामार्फ़त उनले सुस्तमनःस्थितिका बालबालिकाका निम्ति मकवानपुरको हेटौँडामा छात्रावास र विद्यालय सञ्चालन गर्दै आएकी छन् । बार्काले जुलाई २२ मा लण्डनमा ‘नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको अवस्था, सामाजिक उपेक्षा र शिक्षादीक्षाको उपलब्धता’ बारे प्रस्तुति दिनेछिन् ।

यही अवसर पारेर एनआरएनए युकेले समेत उनको महत्त्वपूर्ण मानवीय कार्यको सम्मान र सहयोग गर्न लागेको हो । गत बुधवार सम्पन्न एनआरएनए बैठकले बार्कालाई सहयोग गर्ने औपचारिक निर्णय गरेको एनआरएन यूके अध्यक्ष योगकुमार फगामी एबम महासचिव आरके त्रिपाठीले बताए ।

एनआरएनए युकेले सम्पूर्ण बेलायतवासीलाई यो मानवीय कार्यमा यथाशक्य सहयोग गर्न आग्रहसमेत गरेको छ । हाल अस्थायी टहरामा पठनपाठन हुँदै आएकोमा बन्दै गरेको स्थायी विद्यालयका निम्ति आर्थिक सहयोग जुटाउने अभियानमा बार्का लागिरहेकी छिन् ।

हाल उनको संस्थाले ३५ जना बालबालिकालाई नियमित विद्यालयीय शिक्षा र व्यावसायिक तालिम दिइरहेको छ ।