लन्डन । नेपाली काँग्रेस बेलायतमा हालसम्मकै रोचक दृश्य देखिएको छ । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेको सभापतिमा चार जना निर्वाचित भएका हुन् । निकै दुर्लभ दृश्यको रुपमा चार जना सभापति चुनिएका हुन् ।
२७ नोभेम्बर शनिबार लन्डन साउथ ह्यारोमा भएको समितिको पांचौं अधिवेशनले निवर्तमान सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, कोपिला वनेम लिम्बु र युवराज सिंहलाई सभापति चुनेको हो ।
निर्वाचन समितिका अनुसार चक्रिय रुपमा सबैले एक एक बर्ष सभापतिको हैसियतमा काम गर्न पाउनेछन् । युवराज गुरुङ, महेशकुमार दाहाल, कोपिला वनेम लिम्बु र युवराज सिंहले क्रमैसँग एक एक बर्ष सभापति हुनेछन् ।
पूर्व महामन्त्री तथा निर्वाचन समितिका सदस्य केशव भण्डारीले अधिवेशनले विधान संशोधन गरि एक कार्यकालका लागि मात्र यस्तो सहमति गरेको जानकारी दिए ।
विधान समितिका संयोजक शिवजी श्रेष्ठ एवं सदस्यहरु सुरज केसी र राष्ट्र राईले कार्यसमितिमा संख्या थप सम्बन्धमा प्रस्ताव लगेर विधान अनुमोदन गराएका थिए ।
अधिवेशनबाट रितेशराज पाण्डे वरिष्ठ उपसभापति चयन भएका छन् भने उपसभापतिमा ५ जना रिचर्ड गुरुङ, नवराज कार्की, प्रवेश केसी, राज सिटौला र सुवास राई चुनिए ।
यसअघि सभापति पदमै उम्मेद्वारी घोषणा गरेका रिचर्ड गुरुङ सहमति निर्माणका लागि त्याग गर्न तयार भएपछि उनलाई उपसभापतिको जिम्मेवारी दिइएको हो ।
महामन्त्रीमा पनि ५ जना चुनिएका छन् जसमा रेशम बस्याल, कुश बस्नेत, रोमियन चेमजोङ, नोर्बु शेर्पा र इन्द्रहाङ लिङ्देन छन् । सह(महामन्त्रीमा रविचन्द्र उप्रेती, गुन्जेश्वर न्यौपाने, सन्जिव राई, उमिरा ९उषा० राई, सन्तोषकुमार सुवेदी र रोहित राई चुनिएका छन् ।
त्यसैगरि, सदस्यहरुमा लिलाधर पौडेल, प्रमिला तिवारी भट्टराई, भिमराज राई, बाग्बीर पुन, जंग पुन, विज्ञान प्रसाईं, देवराज राई, किरण राई, बाबुराम भुषाल र पूर्णकुमार मादेन छानिएका समितिले जनाएको छ ।
निर्वाचनका लागि डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा खुशी लिम्बु सदस्य सचिव र राजेन्द्र खरेल एवं केशव भण्डारी सम्मिलित निर्वाचन समिति बनाइएको थियो । केन्द्रिय प्रतिनिधिमा समितिका पूर्व सभापति लोक गुरुङ थिए । यस्तै अधिवेशनले कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि पनि चयन गरेको छ ।
बेलायतबाट छानिएका १४ जना महाधिवेशन प्रतिनिधिमा विश्वआदर्श पण्डित, कोपिला वनेम लिम्बु, विज्ञान प्रसाईं, केशबहादुर गुरुङ, इन्द्रहाङ लिङ्देन, तर्कजंग गुरुङ, नरकुमारी लिम्बु, कुमारी गुरुङ, महेश दाहाल, आलेख चौहान, युवराज गुरुङ, विनोद मोक्तान, सूर्य नेम्वाङ र योगेन क्षेत्री छन् ।
विदेशबाट कांग्रेस महाधिवेशनमा जाने प्रतिनिधि भारतबाहेक बेलायतको सबैभन्दा ठूलो संख्या हो । समितिमा २ हजार ५ जना क्रियाशिल सदस्य छन् ।
नेता त्रिपाठीले गरे कडा आलोचना –
यसैबिच, एनपीसीसी युकेमा चार जना सभापति छानिएपछि नेपाली कांग्रेस अन्तरराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सदस्य आके त्रिपाठीले चर्को आलोचना गरेका छन । कृयाशिल सदस्य दुईहजारको हाराहारीमा रहेको एनपीसीसी युकेको करीव ५० जनाको उपस्थितिमा चार जनालाई बर्षैपिच्छे सभापति पद भागवण्डा गरेको भन्दै आलोचना गरेका हुन् ।
लामो समय कांग्रेसका राजनीति गरेका प्रधानमन्त्री शेरवहादुर देउवा निकट त्रिपाठीले सामाजिक संजालमा यस्तो कार्य विधान विपरीत भएकाले केन्द्रबाट मान्यता नपाउने भन्दै आलोचना गरेका छन ।
यस्तो छ उनले सामाजिक संजालमा लेखेको स्टाटस –
‘बेलायत कांग्रेसले लज्जित बनायो। सभापतिमा उम्मेदवारी दिएका ४ जना नै सभापति निर्वाचित। कार्यसमितिमा उठेका सबै निर्वाचित। स्वीकृत कियाशील सदस्य संख्या दुई हजार माथी। अधिवेशनमा उपस्थित संख्या ४२ जना मात्र । द्रौपतिको सारी ताने जस्तो विधानको धज्जी उडाइयो। अब के हेर्न बाँकी रह्यो र रु बिचराहरु। अत्यधिक बहुमतले अधिवेशन बहिष्कार !
केन्द्रले कसरी मान्यता दिन्छ हेर्दै जाउँ । वैधानिक लडाई लडिनै रहनेछौं । अधिवेशनमा उपस्थित संस्था ४२ जना मात्रले पेश भएको क्रियाशील सदस्य नक्कली भएको प्रमाणित भयो। अब उप्रान्त नेपाली कांग्रेस पार्टी सदस्य हुनुको गौरब रहेन।अब नेपालमा पनि भविष्यमा नेपाली कांग्रेस पार्टीको आउँदो अधिवेशनमा सभापतिमा उमेदवारी घोषणा गर्नु भएका सम्माननीय शेरवहादुर देउवा ,रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, प्रकाश मान सिंह र बिमलेन्द्र निधि सबै १ /१ बर्षको लागी चक्रिय प्रणाली मार्फत सभापति ।
बेलायत जस्तो प्रजातन्त्र ,पद्धती भएको देशमा हामीले राम्रै सिकेका रहेछौं भागबण्डा लगाई खान। बेलायत कांग्रेसको लाजको पराकाष्ट। लाज लाग्यो मलाई नेपाली कांग्रेस भन्न अब देखि !’






