बेलायतको वाटफोर्डमा काउन्सिलर लड्दै सञ्जय पन्त,को हुन् उनि ?

लण्डन । आगामी मे ५ मा बेलायतमा हुने स्थानीय निर्वाचनमा नेपाली समुदायका व्यक्तिहरुले उम्मेदवारी दिने क्रम बढ्दो छ । नेपाली समुदायको उपस्थिति र प्रतिनिधित्व सहित बेलायतका स्थानीय सरकारमा नेपाली समुदायको समस्या प्रस्तुत गर्ने र अपनत्व गर्न विभिन्न व्यक्तिहरुले विभिन्न राज्यहरुबाट उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैबीच वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट एक नेपाली युवाले उम्मेदवारी दिएका छन् । वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर समेत रहेका सञ्जय पन्तले उक्त वडामा कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदमा उम्मेदवार दिएका हुन् ।

उम्मेदवारी घोषणा सगैं लण्डन नेपाल न्यूज सगंको कुराकानीमा पन्तले आफु नेपाली समुदाय र युवाहरुको प्रतिनिधि गर्दै चुनावी मैदानमा आएको भन्दै स्थानीय सरकारमा नेपालीहरुको पहिचान दिँदै नमुना वडा बनाउने योजना सहित चुनावी मैदानमा आएको बताए ।

काउन्सिलर उम्मेदवार पन्तले स्थानीय विकास, जनताका लागि सेवा सुविधा आदिलाई प्राथमिकता दिएका छन् । चितवन भरतपुर महानगर -१० का स्थायी बासिन्दा पन्त विगत १४ बर्षदेखि बेलायतमा छन् । उनका साथ २ छोरा र श्रीमति छन् । प्राणीशास्त्रमा स्नातकोत्तर गरेका पन्त नेपाली समुदायमा परिचित छन् ।

उनले आफु नयाँ सोँच र विचारका साथ अगाडी बढेको भन्दै सहयोग गर्न र जिताउन सम्पूर्णलाई आग्रह समेत गरे ।