गठबन्धनको तेज देखेर ओली बेहोस : माधव नेपाल

काठमान्डौ /पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गठबन्धनको तेज देखेर बेहोसी अवस्थामा बर्बराउन थालेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन बारा आएका अध्यक्ष नेपालले ५ दलीय गठबन्धन देशैभरि पानीको बहाव भन्दा तेज गतिमा अगाडि बढेको दाबी गरे ।

गठबन्धनको तेज देखेर ओली बेहोस अवस्थामा बर्बराइरहेको र उनलाई होसमा ल्याउन सहयोग गर्न नेपालले आग्रह समेत गरे ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रतिगामी प्रवृत्तिलाई पराजित गर्न, संविधान र अर्थतन्त्रको रक्षा एवं समाजवादलाई साकार पार्न पाँच दलीय गठबन्धन भएको बताए ।

उनले भने, ‘अर्को पक्षले प्रतिगामी शक्तिहरूसँग साँठगाँठ गरिरहेको छ, संविधान विरोधी तत्वहरु, यथास्थितिवादी तत्वहरुसँग साँठगाँठ गरिरहेको छ ।’अगामी निर्वाचनमा देशभरका ११ उपमहानगरमध्ये नेकपा एकीकृत समाजवादले तीनवटा उपमहानगरमा दावी गर्ने अध्यक्ष नेपालले जनाएका छन् ।

भरतपुर महानगरको उम्मेदवारको हकमा काँग्रेस र माओवादी केन्द्रबीच देखिएको विवादलाई छलफलको माध्यमबाट टुंगो लगाइने उनले बताए ।काँग्रेसभित्र २ वटा विचार भए पनि निर्वाचनमा सिटको तालमेल मिलाएर जाने विषयमा निर्णय भइसकेको जनाएका छन् ।

‘चुनावमा जमानत जफत हुनेले पनि सानदाररुपमा म अत्यधिक मतले विजयी हुन्छु भन्छ, मैले देखिसकेको भोगिसकेको कुरा हो’ नेता नेपालले भने ‘जिल्लामा सबै पार्टीको आ–आफ्नो शक्तिको आकलन हुन थालेको छ, कसैले धेरै दावा गर्न थालेका छन् कसैले अलि लचकता देखाउन थालेका छन् ।’

जिल्लाको प्रशिक्षण कार्यक्रमका लागि बारा आएका पूर्वप्रधानमन्त्री नेपालले सिमराका व्यवसायीहरूसमेत भेटघाट गरेका थिए । भेटमा नगर उद्योग वाणिज्य संघका पदाधिकारी, पर्यटन व्यवसायीहरुले नेपाल आउने भारतीय पर्यटकहरुले सीमामा सास्ती व्योहर्नुपरेको, बिशेष आर्थिक क्षेत्र सिमरा सेज मा करोडौँ रुपैयाँ लगानी भए पनि उद्योगहरु नआएको र प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम ढिलो भएको गुनासो सुनाएका थिए ।