सातै प्रदेशमा प्राकृतिक चिकित्सालय स्थापना गर्न सभामुखको आग्रह

काठमाडौं–प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सात वटै प्रदेशमा प्राकृतिक चिकित्सालय स्थापना गर्न सरकारसँग आग्रह गरेका छन् ।
सभामुख महराले आधुनिक प्राकृतिक चिकित्सालयको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै सबै प्रदेशमा प्राकृतिक चिकित्सालय खोल्न सरकारसँग आग्रह गरेका हुन् ।

राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्राकृतिक चिकित्सालय स्थापना गर्ने अभियानलाई सफल बनाउन आफूले संसदमा पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सभामुख महराले प्राकृतिक चिकित्सा पद्धतिको आवश्यक्ताबारे सांसदहरुसँग छलफल गर्न सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण गराए ।
उनले सरकारले प्राकृतिक चिकित्सालय स्थापनाका लागि विधेयक ल्याउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

सभामुख महराले आफूले दाङको संस्कृति विश्वविद्यालयमै आयुर्वेद औषधालय स्थापनाका लागि पहल गरिरहेको पनि स्मरण गराए ।
प्राकृतिक उपचार पद्धति नागरिकका लागि अति उपयोगी हुने सभामुख महराको भनाई छ ।