काठमाडौं– पूर्वमन्त्री कृपाशुर शेपाले जिल्ला अदालत काठमाडौको फैसला अनुसार आफूलाई दिनुपर्ने अंश नदिएको उनका छोरा गणेश शेर्पाले दाबी गरेका छन् । साथै अदालतमा जग्गा विवरण देखाएपनि ठूलो परिणामको सम्पत्ति शेर्पा परिवारले लुकाएको उनको दाबी छ ।
जिल्ला अदालत काठमाडौंले २०७३ माघदेखि अंश छुट्याई नदिएसम्मका लागि मानाचामल भराई वापत मासिक ५ हजार दिन फैसला गरेको थियो । यस्तै कृपाशुर शेर्पाले आफ्नो र श्रीमती कमला शेर्पाको नाममा रहेको सम्पत्तिको ७ भागको १ भाग छुट्याई गणेश शेर्पालाई दिन फैसला गरेको थियो ।
अदालतले कमला शेर्पाको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नंं. ७ मा घरसहित रहेको ११ आना जग्गा, इलामा रहेको ३ रोपनी ३ आना जग्गा, भोजपुरमा रहेको १८ रोपनी ८ आना, सोही स्थानमा रहेको अर्को ३२ रोपनी २ आना, झापामा रहेको २ रोपनी १५ आना जग्गाबाट अंशवण्डा गर्न फैसला गरेको थियो ।
अदालतले गरेको यो फैसला हालसम्म कार्यान्वयन नभएको र कृपाशुर शेर्पा र कमला शेर्पाले उच्च अदालत पाटनमा पुनरावेशन गरेको उनले बताए । यही असार २४ गते पुनरावेदन गरेको मुद्धाको पेशी तोकिएको छ ।
कृपाशुर शेर्पाले यति एयरलाइन्समा रहेको शेयर, हिमालय ट्रेकिङ, पासाङल्हामु कलेज, हाङगुडे हाइड्रोपावरमा रहेको शेयर लुकाएको उनका छोरा गणेशले बताए । यस्तै बैद्धस्थित शिखर सुज कम्पनी बसेको घर करोडौं मुल्यमा बिक्री गरेको, छोरा पूर्वा शेर्पाका नाममा रहेको गाडि, संचयकोषको पैसा, करोडौं मूल्यको सुन चाँदी तथा बैंक खाता पनि नदेखाएको उनका छोरा गणेशले दाबी गरे ।
गणेश शेर्पा कृपाशुर शेर्पाका तीन श्रीमती मध्ये बिष्णुमाया शेर्पा दर्नाल तर्फका छोरा हुन् । बिष्णुमाया र कृपाशुरको २०३७ साल मंसिरमा बिहे भएको थियो । तर उनले श्रीमती र छोरालाई त्याग गर्दै आएकोमा उनका छोरा गणेशले २०७० सालमा अंश मुद्धा दायर गरेका थिए । पछि नागरिकता पनि दिने र अंश वापत घर पनि दिने भनेपछि उनका छोरा गणेशले मुद्धा फिर्ता लिएका थिए । २०७२ जेठ १८ गते कृपाशुर शेर्पाले गणेशलाई छोरा स्वीकार गरी नागरिकता बनाइदिए पनि अंश नदिएको भन्दै पछि फेरी गणेशले मुद्धा दायर गरेपछि २०७४ फागुन २ गते जिल्ला अदालत काठमाडौंले छोरा गणेशको पक्षमा फैसला गरेको थियो । यसविषयमा बुझ्दा पूर्वमन्त्री शेर्पा भने सम्पर्कमा आएनन् ।
यसो भन्छन् कृपाशुरका छोरा गणेश
जिल्ला अदालतको फैसला उनीहरुले कार्यान्वयन गरेनन् । दाइजो र पेवाबाट कमाएको सम्पत्ति मलाई दिन नपर्ने भन्दै उनीहरुले उच्च अदालतमा पुनरावेदन गरेका छन् । अदालतले माना चामल भराई वापत मासिक ५ हजार दिन गरेको आदेश पनि उनीहरुले मानेका छैनन् । मलाई केही पनि दिएका छैनन्, उनीहरु ६÷७ करोडको घरमा बस्छन्, छोराछोरीलाई बिदेशमा पढाउछन्, मलाई अंश दिनुपर्छ भनेर पैसा, सुन चाँदी धेरै सम्पत्ति लुकाएका छन् ।
पहिला मन्त्री भएका बेला मलाई भक्तपुरको मुख्य सडक भएको ठाँउमा चार रोपनी जग्गा किनिदिन्छु भनेका थिए । धेरै आश्वासन दिएर मुद्धा फिर्ता लिन लगाए । पछि मन्त्रीबाट हटेपछि मलाई तथानाम गाली गरेर धम्की दिए । बाटोमा भेटेको बेला तैले कृपाशुरको चुरीफुरी झार्दिस् हैन भन्दै तथानाम गाली गरे ।
कहिले मेरी श्रीमतीलाई मार्ने, कहिले साइबर अपराधको मुद्धामा जेल हाल्ने धम्की दिए । हामीलाई मर्नु न बाँच्नु बनाएका छन् । २० हजार रुपियाको जागिर छ, ४ जनाको परिवार पाल्न, छोराछोरी पढाउन ठूलो संकट छ, धेरै ऋण लागेको छ, हाम्रो दुःख देख्ने सुन्ने कोही छैनन् । अदालतले मेरो पक्षमा फैसला गरेपनि मैले अझै न्याय पाउन सकेको छैन । तर पार्टीका केही नेताहरुले भने मेरो न्यायका लागि सहयोग गरिरहनुएको छ ।






