पोलिटव्यूरो सदस्यनै गिरफ्तार भएपछि विप्लवको पार्टीले दियो चेतावनी

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना नेता–कार्यकर्ताहरु विरुद्ध धरपक्कड जारी राखेको भन्दै आपत्ति जनाएको छ । बुधबार सो पार्टीका पश्चिम कमान्ड इन्चार्ज कञ्चनले एक वक्तव्य निकाली आफ्ना नेताहरूको गिरफ्तारीको विरोध गरेका हुन् । इन्चार्ज कञ्चनले आफ्नो पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुन लगायतका नेता–कार्यकर्तालाई धमाधम गिरफ्तार गर्दै मुद्धा लगाउँदै जानुले सरकारले देशलाई फासीवादी दिशामा अघि बढाएको आरोप लगाएका छ । विज्ञिप्तिमा पार्टीका पोलिट्ब्यूरो सदस्य पुनलाई यही असार १९ गते संगठनको कामको सिलसिलामा गिरफ्तार गरिएको दाबी गरिएको छ । उनीसहित दुई पोलिट्व्यूरो सदस्य केही दिनअघि पक्राउ परेका थिए ।

विज्ञप्तिमा भनिएको छः ‘देशको आमूल परिवर्तनका लागि विगत लामो समयदेखि चलेको सङ्घर्ष, जनयुद्ध र जनआन्दोलनले उठाएका जनताका सङ्गीन मुद्दाहरूलाई पूर्ण रूपले लत्याउ“दै कथित वामपन्थी नेतृत्वमा बनेको सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्तालाई राष्ट्रियता,जनतन्त्र,जनजीविका सम्बन्धित देशका जल्दाबल्दा समस्या समाधान गर्न माग गरेको कारण, देशका प्राकृतिक सम्पदाको दोहन गर्दै औद्योगीकरण गरी जनतालाई समृद्धिको बाटोमा लैजान माग गरेको कारण,सम्पूर्ण नागरिकको रोजगारी,स्वास्थ्य शिक्षा र सम्मानको माग गरेको कारण,देशको जाति–जनजाति, पहाडी, मधेसी र हिमालीबीच ल्याइएको विभेद अन्त्य गरी राष्ट्रिय एकता स्थापना गर्ने राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि आवाज उठाएको कारण, देशमा हुने भ्रष्टाचार, तस्करी, मानव बेचबिखन, नातावाद, गुटवाद, क्षेत्रीयतावादको अन्त्य गर्न माग गरेको कारण र जनतामाथि शोषण–उत्पीडन गर्ने दलाल पुँजीवादी सत्ताको अन्त्य गरी जनताको जनवादी सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्ने माग गरेको कारण गिरफ्तार गरेको छ र अनेक प्रकारका मुद्दाको फन्दा भिराउने गरेको छ ।’

विज्ञप्तिमा यी घटनाले छोटै समयमा केपी ओली सरकारको बदनाम भएको ठहर समेत गरिएको छ । विज्ञप्तिमा काठमाडौँबाट गिरफ्तार गरिएका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, केही दिनअगाडि गिरफ्तारीमा परेका पोलिटब्युरो सदस्यद्वय पदम राई, भरत बम र केही महिना अगाडि सुनसरीबाट गिरफ्तार परेका केन्द्रीय सदस्य किरण राईलगायत सम्पूर्ण कमरेडहरूलाई मुक्त गर्न सरकारसँग माग समेत गरिएको छ ।
विज्ञप्तिमा सरकारबाट दमनको प्रक्रियालाई निरन्तरता दिइरहेमा प्रतिरोध गर्ने समेत चेतावनी दिइएको छ ।