एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत् शुक्रबार सम्पन्न खेलमा आयोजक न्यूजिल्यान्डले इंग्ल्यान्डमाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । न्यूजिल्यान्डको वेलिङ्टनमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले फितलो प्रदर्शन गर्दै १ सय २४ रनको झिनो लक्ष्य दिएपछि न्यूजिल्यान्डले १३औं ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पार ग¥यो ।
न्यूजिल्यान्डका लागि विस्फोटक ब्याटिङ गरेका ब्रेन्डन म्याक्कुलमले ७७ रन जोडे । २५ बल सामना गरेका म्याक्कुलमले ७ छक्का र ८ चौका प्रहार गरेका थिए । यसअघि इंग्ल्यान्डले आफ्नो इनिङमा १ सय २३ रनको झिनो योगफल मात्रै तयार पारेको थियो । इंग्लिस इनिङलाई ध्वस्त पार्नेक्रममा न्यूजिल्यान्डका तीव्र गतिका बलर टिम साउदीले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३३ रन खर्चेर ७ विकेट लिए ।
विश्वकप क्रिकेटको एकै खेलमा ७ विकेट लिने साउदी चौथो बलर बनेका छन् । विश्वकपमा हालसम्म कसैले पनि ८ विकेट लिन सकेका छैनन ।
सुरुदेखि नै धरमराएको इंग्लिस इनिङलाई समाल्ने प्रयासमा जो रुटले ४६ रन जोडे भने मोइन अलीले २० रन जोडे । पछिल्लो समय निकै उत्कृष्ट फर्ममा रहेको न्यूजिल्यान्डको जारी विश्वकपमा यो लगातार तेस्रो जित हो । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्यान्डले दोस्रो खेलमा स्कटल्यान्डलाई निराश पारेको थियो ।
पहिलो खेलमा अर्को आयोजक टोली अष्ट्रेलियासँग हारेको इंग्ल्यान्ड शुक्रबार लगातार दोस्रो खेलमा आयोजक टोलीसँगै पराजित भएको हो । विश्वक क्रिकेटअन्तर्गत् शनिबार दुई खेल हुनेछन् । नेपाली समयअनुसार बिहान पौने ४ बजे हुने खेलमा पाकिस्तान र वेस्ट इन्डिज भिड्नेछन् । यसैगरी, बिहान सवा ९ बजे हुने खेलमा अष्ट्रेलियाले बंगलादेशको सामना गर्नेछ ।
न्यूजिल्यान्डको शानदार जित






