विश्वकप छनौट : टस जितेर पहिलो ब्याटिङ गर्दै जिम्बावे

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्राको शुरुवात नेपालले आइतबार आफूभन्दा निकै बलियो टोली जिम्बावेविरुद्धको खेलबाट गर्दैछ ।

जिम्बावेले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आयोजक राष्ट्र जिम्बावे एकदिवसीय र टेस्ट मान्यता राष्ट्र हो भने नेपाल एसोसिएट राष्ट्र हो । सन् २०१७ को सेप्टेम्बरमा आइसिसी एकदिवसीय वरीयताको आठौँ स्थानमा समावेश नभएपछि जिम्बावेसँगै वेस्ट इन्डिजले विश्वकप छनोट खेल्नु परेको हो ।

नेपालले भने आइसिसी विश्व डिभिजन–२ को उपविजेताका रूपमा प्रतियोगिता खेलिरहेको छ ।

नेपाल र जिम्बावे समूह ‘बी’मा रहेका छन् ।

नेपाल र जिम्बावे पहिलो पटक आमने सामने हुन लागेका हुन् ।

आइसिसीको नजरमा ‘नयाँ अफगानिस्तान’ को उपमा पाएको नेपालले विश्व क्रिकेट लिग डिभिजन टु मा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

त्यस्तै, छनोट खेलअघि नेपालले पहिलो खेलमा युएईलाई ५ विकेटले हराउँदै उच्च मनोबलको साथ मैदानमा उत्रनेछ । वर्षाका कारण नेपाल र हङकङबीचको अभ्यास खेल भने रद्द भएको थियो ।

आजको नेपाली समयअनुसार १ बजेर १५ मिनेटमा जिम्बावेको वुलावायोमा हुनेछ ।