अमेरिकाको टेक्सास शहरमा बस्ने च्यारिटी ली जब ६ वर्षकी थिइन् तब उनले आफ्नै अगाडि आफ्नो बुवाको हत्या भएको देखिन् र यसो गर्ने उनकै आमा थिइन् ।
वर्षौंपछि जब च्यारिटी लीका १३ वर्षका छोरा पेरिसले आफ्नै चार वर्षीया बहिनी एलाको हत्या गरे तब उनी बिक्षिप्त भइन् ।
आफ्नी छोरीलाई याद गर्दै च्यारिटीले बीबीसीलाई भनिन्, ‘एलाको स्वभाव चञ्चले र धेरै कुरा गर्नुपर्ने थियो । अर्कोतर्फ पेरिसको स्वभाव निकै लजालु र चुप बस्ने खालको थियो । पेरिस एलालाई निकै माया गर्दथे र उनी पनि आफ्नो दाइको निकै इज्जत गर्थिन् ।’
‘पेरिस निकै शान्त बच्चा थियो । ऊ आफैंमा व्यस्त हुन्थ्यो, अरु बच्चा जस्तै । उसको यस्तो स्वभावले मलाई कहिले कुनै समस्यामा पारेन ।’
‘तर विगतका यी कुरालाई याद गर्ने हो भने त्यो एक संकेत थियो भन्ने अहिले लाग्छ । त्यतिबेला उसको व्यवहार सामान्य लाग्थ्यो, यो उमेरमा बच्चाहरुको व्यवहार यस्तै हुन्छ भन्ने लाग्थ्यो ।’
‘जब पेरिसको उमेर १२ वर्ष थियो र एला लगभग दुई वा तीन वर्षकी थिइन्, तब म क्रमशः लागुऔषधतर्फ धकेलिएँ । हुन त मैले यो कुलत वर्षौं अघि त्यागेकी थिएँ तर म पुनः यसको शिकार भइरहेकी थिएँ ।’
‘एक घटना जुन मैले बुझ्न सकिनँ ’
एकदिन यस्तो घटना भयो जसले च्यारिटीलाई तनावमा पार्यो । च्यारिटीकी आमाको एक फार्ममा पेरिस र एला आफ्ना काकीसँग खेलिरहेका थिए । च्यारिटी भन्छिन्, ‘उनीहरुबीच एकाएक झगडा भयो । मैले दुबैको झगडा सुल्झाएँ । त्यसपछि जब म पेरिसलाई खोज्न थालें तब मलाई थाहा भयो कि ऊ किचनबाट एउटा चक्कु लिएर बाहिर निस्किएको छ । मलाई देख्नेबित्तिकै ऊ रोयो र म उसको नजिक गएँ भने उसले आफूलाई घाइते बनाउने रुँदै चेतावनी दिइरहेको थियो ।’
‘मलाई थाहा थियो कि पेरिस मेरो कुलतका कारण निकै दुःखी थियो । यो सबै त्यही कारणले भइरहेको थियो । म यसकारण तनावमा थिएँ किनभने पेरिसको प्रतिक्रिया अतिरञ्जित थियो । मैले उसलाई अस्पताल पुर्याएँ । डाक्टरले पेरिसमा होमोसाइडल (हत्यारा) को प्रवृत्तिबारे पत्ता लगाउन सकेनन् ।’
‘सन् २००५ मा म लागुऔषधको लतबाट बाहिर निस्किएँ ।’
त्यो कालो दिनः
‘चार फेब्रुअरी… सन् २००७, म एउटा रेष्टुरेन्टमा वेट्रेसको काम गरिरहेकी थिएँ ।’
‘म जब काममा जाँदै थिएँ तब एला बाथटबमा थिइन् । सामान्य रुपमा उनले मलाई अंगालो हालेर ‘गुडबाइ मम’ भन्थिन् तर त्यसदिन उनले मलाई पटकपटक अंगालो होलिन् र चुमिन ।’
‘त्यो दिन पेरिस मसँग रिसाएको थियो । यो सामान्य कुरा थियो किनभने यस्तो धेरैजसो भइरहन्थ्यो । मलाई राम्रोसँग याद छ कि त्यसदिन म उनी भएठाउँ गएर भनेकी थिएँ, ‘तिमीलाई थाहा छ कि म तिमीलाई कति माया गर्छु । हामीले निकै खराब समय बिताइसकेका छौं र हामी यो समयबाट पनि चाँडै नै पार हुनेछौं ।’
‘पेरिसलाई यसरी सम्झाएपछि म काममा गएँ ।’
‘आधा रात थियो । रेष्टुरेन्ट बन्द हुनै लागेको थियो । त्यति नै बेला दुई जासुस र एक पादरीले मलाई छोरी घाइते भएको र घरमा नै भएको जानकारी दिए । जब मैले उनलाई किन अस्पताल नलगेको भनेर सोधें तब उनीहरुले छोरीको मृत्यु भइसकेको बताए र हत्यारा मेरै छोरा र उनको दाइ पेरिस भएको पनि जानकारी दिए ।’
‘यो सुनेर यस्तो लाग्यो कि मेरो संसार कतै रोकियो । केही पनि सोच्नै सकिनँ ।’
पेरिसले कसरी गरे यस्तो अपराध ?
त्यसदिन पेरिसले धाईआमालाई आमा घर फर्किनुअघि नै घर पठाइदिएका थिए । त्यसपछि उनी आफ्नी चार वर्षे बहिनीको कोठामा गए । उनको यौन शोषण गरे, कुटे, घाँटी थिचे र १७ पटक चक्कुले हमला गरे ।
आपतकालीन मद्दत बोलाउनुको साटो पेरिसले आफ्ना साथीलाई बोलाए । उनीहरुसँग कुराकानी गरे । त्यतिबेलाका साक्षीका अनुसार उनले आफ्नी बहिनीलाई बचाउनका लागि कुनै कोसिस गरेनन् ।
‘भोलिपल्ट म पेरिसलाई भेट्न गएँ जहाँ उनलाई नजरबन्द गरिएको थियो ।’
‘उनले मलाई भने, ‘तपाईं मलाई सधैं भन्नुहुन्थ्यो कि आफ्नो बच्चालाई हानी पुर्याउने व्यक्तिको म हत्या गर्न सक्छु, अब तपाईं के गर्नुहुन्छ ?’’
‘उसको प्रश्नमा आमाले केही नराम्रो गर्लिन् कि भन्ने कुनै डर थिएन । उसको शब्दले मलाई चुनौती दिइरहेको थियो । पहिलो पटक मैले आफ्नो छोरा पेरिसलाई पेरिस देखिरहेको थिइनँ, ऊ अर्कै भइसकेको थियो ।’
‘म तिमीलाई त्यहि बचन दिन्छु जुन मैले तिमी जन्मिँदा गरेको थिएँ,’ मैले उनलाई यसो भनें ।
‘जब मैले पेरिसलाई पहिलो पटक बोकेँ तब मैले उसको कानमा भनेकी थिएँ, ‘मलाई राम्रो आमा कसरी बन्ने केही थाहा छैन तर म तिमीलाई यो वचन दिन्छु कि म सधैं तिम्रा लागि आफ्नो तर्फबाट उत्कृष्ट गर्नेछु ।’’
‘उसको लागि मेरो प्रेम निःस्वार्थ थियो, यो कुरा उसले बुझोस् भन्ने मेरो चाहना थियो । मैले उसलाई भने, ‘म सधैं तिम्रो उत्कृष्ट आमा बन्ने कोसिस गर्नेछु । चाहे जे सुकै होस्, म तिमीलाई सधैं माया गरिरहन्छु ।’
मैले एक राक्षसलाई मारेंः
‘पुलिसले मलाई त्यो दिनको घटनाबारे पेरिसको बयानको रेकर्डिङ दिए । जसमा पेरिसले भनेका थिए, ‘हामी दुई (पेरिस–एली) एउटै ओछ्यानमा सुतिरहेका थियौं । जब म सुतेर उठें तब मैले उनी एक राक्षसमा परिवर्तन भएको देखें । त्यसपछि मैले त्यो राक्षसलाई मारें ।’
‘लगभग तीन महिनाका लागि मेरो छोरा बिरामी छ भन्ने कुरामा विश्वास गर्न चाहें । जब पेरिसलाई पक्राउ गरियो तब उसको अत्यधिक हिंस्रक रुप सार्वजनिक भयो ।’
अनुसन्धानमा पत्ता लाग्यो कि पेरिसले निकै अचम्मित गरिदिने कुराहरुबारे इन्टरनेटमा सर्च गरे । यसका साथै, बहिनीको हत्याको क्रममा उनले अत्यधिक भयानक तरिका अपनाएको पत्ता लाग्यो ।
अन्त्यसमा पेरिसले यो कुनै दुर्घटना नभई नियोजित हत्या भएको स्विकार गरे । सन् २००७ मा पेरिसलाई ७० वर्षको जेल सजाय तोकियो ।
के च्यारिटीको गल्ती थियो ?
घटनाका लागि आफूलाई दोषी मान्नुहुन्छ भन्ने प्रश्नमा च्यारिटी भन्छिन्, ‘हो पनि होइन पनि । म दोस्रो पटक नशामा फसेको कुराले पेरिसमाथि अत्यधिक प्रभाव पार्यो भन्ने कुराको सधैं जिम्मेवारी लिएँ । मलाई लाग्यो कि यसको ठूलो कारण आनुवांशिक हो ।’
‘मलाई लाग्छ कि उसले दोस्रो निर्णय लिन सक्थ्यो । हामी सबैमा यो क्षमता हुन्छ । यो फरक कुरा हो कि उसलाई कुनै रोग भएको भए उसले सही गलत छुट्याउन सक्दैनथ्यो तर यस्तो थिएन । उसले मलाई भनेको थियो कि उसले एलालाई यसकारण मार्यो किनभने यो मेरो लागि गहिरो चोट हुन्थ्यो ।’
‘कुनै शंका बिना, उनी मानसिक स्थितीमा बिरामी थिए ।’
एक नयाँ सुरुवातः
सन् २०१३ मा लगभग ६ वर्षपछि च्यारिटी पुनः गर्भवती भइन् । उनले बच्चाको नाम फोनिक्स राखिन् । च्यारिटी भन्छिन्, ‘पेरिस र एलामाथि जे भयो त्यो मेरो जीवनको अन्त्य होइन । जिन्दगी अघि बढ्छ ।’
पेरिस टेक्सासको एक जेलमा कैद छन् । उनी अब लगभग २५ वर्ष पुगेका छन् । च्यारिटी उसलाई भेट्न अहिले पनि जेलमा जान्छिन् र फोनमा पनि कुरा गर्छिन् । उनी सन् २०४७ मा जेलमुक्त हुने सम्भावना छ ।
एजेन्सी







