धनुषा पुगेर कुलमान घिसिङको निर्देशन : ‘ढल्केबर सव स्टेसन असारभित्र सम्पन्न गर्नु नत्र कारवाही गर्छु’

धुनषा- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउदो असारभित्र धनुषास्थित ढल्केबर सव स्टेशन सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आइतबार आयोजनास्थलको अनुगमनका लागि पुगेका घिसिङले सम्झौता भएको समयभित्र काम नभए निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । उनको निर्देशनपछि आयोजना निर्माण गरिरहेको कम्पनी टेल्मोस इलेक्ट्रोनिसले असार महिनाभित्र सम्पूर्ण काम सक्ने प्रतिबद्धता जनाएको छ ।

शुरुमा सवस्टेशन निर्माणको जिल्ला पाएको सेन्ट्रल चाइना ग्रिडले काममा आलटाल गरेको थियो । प्राधिकरणले पटक पटक ताकेता गरेपनि सो कम्पनीले काम नगरेपछि प्राधिकरणले २०७४ असोज ६ मा ठेक्का सम्झौता तोडेको थियो । त्यसपछि बोलपत्र आह्वान गरेर २०७४ माघ १२ गते टेल्मोससँग ठेक्का सम्झौता गरेको थियो ।

आगामी असारदेखि ढल्केबर–मुज्जफ्फपुर बिद्युत प्रशारण आयोजना सञ्चालनमा आएपछि नेपाल भारतबीच थप १ सय ५० मेगावाट बिद्युत आदानप्रदान गर्न सकिनेछ । हाल हिँउदको बेला नेपालमा बिद्युत बढी खपत हुने साँझ बिहानको समयमा १ सय २० मेगावाट सम्म विद्युत आयात भइरहेको छ । यो आयोजना सम्पन्न भएपछि दुई देशबिच कूल १ सय ७० मेगावाटसम्म बिद्युत आदानप्रदान गर्न सम्भव हुनेछ ।

यसअघि पहिलो ठेकेदार कम्पनी सिसिपिजीले गएको कार्तिक १७ भित्र सक्ने प्रतिबद्धता जनाएको थियो । तर ठेकेदार कम्पनीको लापरवाहीले आयोजनाको काम पछि सरेको हो ।

अघिल्लो वर्ष प्राधिकरणले हिउदमा ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाईनमार्फत एक सय ४० मेगावाटसम्म विजुली आयोत गरेको थियो । भारतबाट झण्डै तीन सय मेगावाट विजुली आयात भएको थियो ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव स्टेसन निर्माण गर्न लागिएको हो ।

ढल्केबरमा सव स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी विजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र २९ डिसेम्बर २०१५ मा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।