राजदूत डा. सुवेदीद्वारा माल्टाका राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश

लण्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत तथा गणतन्त्र माल्टाका लागि नवनियुक्त गैरआवासीय राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले शुक्रबार माल्टाकी राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राजधानी भालेटामा अवस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा गणतन्त्र माल्टाका महामहिम राष्ट्रपति म्यारी लुइस कोलेइरो प्रिकासमक्ष राजदूत डा सुवेदीले ओहोदाको प्रमाणपत्र बुझाएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त विशेष समारोहमा राजदूत डा. सुवेदीले नेपालकी राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट माल्टाका राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै माल्टाका मैत्रीपूर्ण जनताको निरन्तर प्रगति, शान्ति, एवं समृद्धिका लागि पठाउनु भएको शुभकामना सन्देश प्रस्तुत गरे । त्यसैगरी राजदूत डा. सुवेदीले प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीबाट माल्टाका राष्ट्रपति, माल्टा सरकार र जनताप्रति नेपाल सरकार र नेपाली जनताको शुभेच्छा र शुभकामना व्यक्त गरे ।

माल्टाका महामहिम राष्ट्रपति श्रीमती प्रिकाले राजदूत डा. सुवेदीको ओहदाको प्रमाणपत्र ग्रहण गर्दै गणतन्त्र माल्टाका लागि नेपालको असाधारण तथा सर्वाधिकारसम्पन्न राजदूत नियुक्त हुनु भएकोमा डा. सुवेदीलाई वधाई दिइन् । सो अवसरमा राष्ट्रपतिले माल्टाका लागि राजदूतका रुपमा डा. सुवेदीको कार्यकालको सफलताको कामनासहित दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध थप सुदृढ र सुमधुर हुने विश्वास पनि व्यक्त गरिने । सोहि अवसरमा राष्ट्रपति प्रिकाले नेपालका राष्ट्रपति विद्या देवी भण्डारीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै नेपाली जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना सन्देश राष्ट्रपतिसमक्ष पुर्याइदिन राजदूत डा. सुवेदीलाई आग्रह गरिन् ।

नेपालमा स्थानीय, प्रादेशिक र संघीय तीनै तहका निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ ज्ञापन गर्नुहुँदै गणतन्त्र माल्टाका महामहिम राष्ट्रपतिले यसले नेपालको लोकतान्त्रिक, समावेशी र सर्वस्वीकार्य संविधानको कार्यान्वयनका साथै नेपालको सामाजिक र आर्थिक विकासका निम्ति मार्ग प्रशस्त गरेको धारणा राष्ट्रपति प्रिकाले राखिन्। उनले द्धिपक्षीय सहयोगको अभिवृद्धिले दुई मुलुकबीच रहेको मैत्रीपूर्ण सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास समेत व्यक्त गरिन् ।

आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्दै राजदूत डा. सुवेदीले नेपालको वर्तमान राजनैतिक, सामाजिक र आर्थिक विकासबारे संक्षिप्तमा प्रकाश पारेका थिए । नेपालमा सफलतापूर्वक स्थानीय, प्रदेश र संघीय संरचनाको निर्वाचन सम्पन्न भई संघीय, सातै प्रदेश र सातसय त्रिपन्न स्थानीय सरकारको गठनले नेपालको लोकतान्त्रिक, समावेशी र नागरिक अधिकार सम्पन्न संविधानको पूर्ण कार्यान्वयन भएको बताउंदैै राजदूत डा. सुवेदीले यसले लामो राजनीतिक संक्रमण अन्त्य गर्नुका साथै एकात्मक संरचनाबाट शासन व्यवस्था संघीय संरचनामा संस्थागत भएको विचार व्यक्त गरे ।

संसदमा बहुमत प्राप्त स्थायी सरकारको निर्माण र विकासको लक्ष्य निर्धारणबाट नेपाली जनतामा समृद्ध र उज्यालो भविष्यप्रति आशा र विश्वास जागेको छ भन्दैै राजदूत डा. सुवेदीले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपालीको आदर्शलाई अंगीकार गरेको र सो आदर्श राष्ट्रियता, लोकतन्त्र र आधारभूत स्वतन्त्रता, सामाजिक न्याय, स्थिरता, प्रगति र विकास, सुशासन र संक्रमणकालको अन्त्यमा आधारित रहेको स्पष्ट पारे । नेपाल सरकारका तर्फबाट गणतन्त्र माल्टा सरकार र जनतालाई नेपालको विकास प्रयासमा प्राप्त सदाशयता र सहायताका लागि आभार व्यक्त गगर्दै उनले आफ्नो कार्यकालमा नेपाल र माल्टाबीचको विद्यमान मैत्रीपूर्ण द्धिपक्षीय सम्बन्ध थप उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरे ।

सो समारोहमा गणतन्त्र माल्टा सरकारका केहि उच्च अधिकारीहरुको पनि उपस्थिति थियो ।