लन्डन । नेपालमा नक्कली नोटको विगविगी भएको रहस्य खुलेको छ । चलचित्र ‘लुट’का निर्माता माधवराज वाग्ले साढे दुई करोड नक्कली नोटसहित पक्राउ परेसँगै नेपालमा नक्कली नोटका विगविगी भएको रहस्य खुलेको हो । नक्कली नोटसहित महानगरीय प्रहरी परिसरको विशेष टोलीले बुधबार काठमाडौंको नक्साल चारढुंगेस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको थियो । वाग्लेसँगै अन्य पाँचजना पनि पक्राउ परेका छन् ।
चारढुंगेस्थित तेजेनजंग थापाको घरमा वाग्लेले सञ्चालन गरेको प्रिन्सेस मुभिज प्रालिको कार्यालयमा छापा मार्दा हजार दरका दुई करोड ५२ लाख रुपैयाँका नक्कली नोट फेला परेको थियो । प्रहरीले नक्कली नोट छाप्न प्रयोग भएको प्लेट पनि बरामद गरेको छ । प्लेट भक्तपुरका विकेश नापितले सञ्चालन गर्दै आएको भोलेबाबा प्रिन्टिङ प्रेसबाट बरामद गरेको हो । प्रहरीका अनुसार बरामद नोट सोही प्रेसमा छापिएको थियो । नापितलाई धादिङका प्रकाश सुवेदीले नोट छाप्न दिएका थिए ।






