चिनियाँ राष्ट्रपति सि बङ्गलादेश पुगे, तर किन आएनन् नेपाल ?

काठमाडौं– चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि शुक्रबार बङलादेशको राजधानी ढाका पुगेका हुन् । दक्षिण एसियाली यो देशमा चीनका राष्ट्रप्रमुखको भ्रमण ३० बर्षपछि भएको हो ।

भ्रमणका क्रममा उनले बङ्गलादेशका राष्ट्रपति अब्दुल्ला हमिद, राष्ट्रिय सभाका सभामुख शिरिन शरमिन चौधरी र प्रधानमन्त्री शेख हसिनासँग भेट गरेका छन् ।

अत्याधिक जनसङ्ख्या भएका चीन र बङ्लादेशकावीचमा सन् १९७५ देखि कुटनैतिक सम्बन्ध रहेको छ । सिले यसअघि सन् २०१० मा चीनको उपराष्ट्रपति हुँदा बङ्लादेशको भ्रमण गरेका थिए ।

चीन बङ्लादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार देश हो भने दक्षिण एसियामा बङ्गलादेश चीनको तेस्रो ठूलो व्यापारिक साझेदार हो ।

भारतको गोवामा आयोजना हुनलागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन जानेक्रममा राष्ट्रपति सि शुक्रबार बङ्गलादेश पुगेका हुन् ।

ब्रिक्स शिखर सम्मेलनमा जानेक्रममा राष्ट्रपति सि नेपाल आउने बताइए पनि अन्त्यमा आएनन् । पूर्ववर्ती केपी ओली सरकारले गरेको व्यापारिक सम्झौता कार्यान्वयनमा चासो राख्दै आएको चीनले अन्तिम समयमा भ्रमण स्थगन गरेको हो ।