‘डाक्टर केसीको अनशन भोलि नै तोडाउने, एकसाताभित्रै स्वास्थ्य सम्बन्धी ऐन पारित’

काठमाडौं– त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन भोलि नै तोडाउने सरोकारवालाहरुले बताएका छन् । नेपाल मेडिकल एशोशिएनका अध्यक्ष मुक्ति श्रेष्ठले केसीको अनसन भोलि नै तोडाउन विश्वास ब्यक्त गरे । शनिवार रिपोटर्स क्लवमा पुगेर श्रेष्ठले डा. केसीको अनसन भोलि नै तोड्नको लागि आफुहरु लागिपरेको बताए ।

संसदबाट स्वास्थ्य विद्येयक पास गराउनको लागि प्रधानमन्त्रीले वचन दिएको उल्लेख गर्दै श्रेष्ठले यो आन्दोलन यतिमै सीमित नहुने भएकाले स्वास्थ्य क्षेत्रका धेरै विकृति हटाउनका लागि डा.केसीले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने श्रेष्ठको भनाइ थियो ।

यस्तै, शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा. केसीलाई तत्काल अनसन तोड्न आग्रह गरे । सचिव श्रेष्ठले एक हप्ताभित्र संसदबाट स्वास्थ्य ऐन सम्बन्धी विधेयक पास हुने बताउदै तत्काल अनशन तोड्न आग्रह गरे ।

डा.केसीका अधिकांश माग सम्बोधन भइसकेको र केही जटिल मागहरु संसदसम्म पुगेको भन्दै श्रेष्ठले संसदको आफ्नै प्रकारको अधिकार रहेको उल्लेख गरे । यस्तो समयमा केसीले अनसनमा बस्नुपर्ने कारण नभएको उनले जिकिर गरे । सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव श्रेष्ठले जनताको जीवन र मुलुकको भविष्यसँग जोडिएका विषयहरु भएको भन्दै सांसदहरुले उक्त विधेयकमाथि गम्भिर छलफल गरि पास गराउने बताए ।

डाक्टर केसीका माग विस्तारै–विस्तारै सम्बोधन हुने र स्वास्थ्य क्षेत्रमा बर्षौँदेखि जरा गाढेर बसेको विकृति, अस्तव्यस्त स्थिति, मनोमानी, लगायतका गलत क्रियाकलापहरु आफै पाखा लाग्ने उनले विश्वास ब्यक्त गरे ।