कावासोती, २८ असोज । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीन दलको सहमतिबिना संविधान संशोधन नहुने बताउनुभएको छ ।
कावासोतीमा नेपाल प्रेस युनियन नवलपरासीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले पहिला तीन दल तथा पछि मधेसकेन्द्रित दल र अन्य दलसँग छलफल गरी संविधान संशोधनको कामलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सीमाङ्कनको कुरा सकेर स्थानीय तहको निर्वाचन पहिला गर्ने अनि प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गरेर संविधान कार्यान्वयन गर्न सकिनेमा महामन्त्री डा कोइरालाले जोड दिनुभयो । काँग्रेसले आगामी कात्तिक ४ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएकाले त्यसमा स्थानीय तह र राष्ट्रिय राजनीतिको निकासका बारे घोत्लेर निर्णय गरिने जानकारी उहाँले दिनुभयो ।
“पार्टीमा गुटभन्दा राष्ट्र ठूलो हो भन्ने भावनाले काम गर्नुपर्छ”, उहाँले भन्नुभयो,“राजनीतिमा सधैँका लागि सबै ठीक हुन्छ भन्ने नहुने भएकाले परिवर्तनप्रति बफादार हुनुपर्छ ।”






