प्रकाश सापकोटा ,
पेरिस । एनआरएनए फ्रान्सको आयोजनामा गत अप्रिल २९ तारिखमा पेरिस नजिकै एक बृहत महिला भेला सम्पन्न भएको छ ।
एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लको सभापतित्वमा सम्पन्न भएको उक्त भेलामा फ्रान्सका लागि नेपाली कार्यबाहक राजदुत श्री लेखनाथ भट्टराइज्यु प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथिमा एनआरएनएनए केन्द्रीय महिला संयोजक श्रीमती रजनी प्रधान र युरोपियन क्षेत्र महिला संयोजक श्रीमती संगीता मरहठा शर्माको विशेष उपस्थिति रहेको थियो ।
फ्रान्सस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरु तथा प्रतिनिधिहरु उपस्तिथी रहेको उक्त्त कार्यक्रममा सम्पूर्ण नेपाली दाजुभाई दिदीबैनीहरुलाई आमन्त्रित गर्नुका साथै निशुल्क खानपिनको व्यवस्था गरिएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरुलाई मनोरंजन दिलाउन स्थानीय कलाकारहरु दिलिषा भट्ट, अंशु शाही, फ्लोरंस मल्ल, अनिशा वाग्ले र सुजन सुबेदीले मिठा गितहरुमा आफ्ना राम्रा नेपाली नृत्य देखाएका थियो भने श्री हरिहर अर्याल र श्रीमती शोभा गजुरेलले मिठा कविताहरु वाचन गरेका थिए ।
नेपाली राष्ट्रिय गान गाउदै सुरुवात गरिएको यस कार्यक्रमको संयोजकत्वो एनआरएन फ्रान्सकी महिला संयोजक श्रीमती पान कुमारी मल्ल (पार्वती मल्ल) ले गरेकी थीइन् र संचालन एनआरएनए फ्रान्सका महासचिव नरेन्द्र शाहीले गरेका थिए । विशेष अतिथिहरु र अध्यक्षले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा एनआरएनए फ्रान्सका सम्पूर्ण संरक्षक तथा सल्लाहकार समितिका सदस्यहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएनए फ्रान्सकी महिला संयोजक श्रीमती पान कुमारी मल्ल (पार्वती मल्ल) ले स्वागत मन्तब्य गर्दै सम्पूर्ण फ्रान्सवासी दिदीबहिनीहरु एक आपसमा परिचयगरी महिलाहरुको समस्याहरुलाई पहिचान गरी त्यसको समाधानको लागि एकजुट हुनुको विकल्प नभएको कुरामाथी प्रकाश पारेकी थीइन्। एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लज्युले आजको यस महिला भेलाले सम्पूर्ण फ्रान्सवासी महिला दिदीबहिनीहरुको बिचमा आपसी सहयोग, सद्भाव कायम गर्दै सभ्य समाज तथा राष्ट्र निर्माणको लागि कोसे ढुंगा सावित हुनेछ भन्ने विश्वास व्यक्त गरे। कार्यबाहक राजदुत श्री लेखनाथ भट्टराइ, एनआरएन फ्रान्सका संस्थापक अध्यक्ष श्री हरिहर अर्याल तथा फ्रान्सका तर्फबाट एनआरएनए ई सी सी सदस्य सुवर्ण बिक्रम हमालले महिला फोरमलाई शुभकामना ब्यक्त गरेका थिए।
एनआरएनए अन्तराष्ट्रिय महिला संयोजक श्रीमती रजनी प्रधानले संसारभर छरीएर रहेका नेपाली महिलाहरु एक जुट भई नेपाल र नेपालवासी महिलाहरुको उत्थान गरी, एक सभ्य समाज निर्माण गर्ने कार्यमा एकतावद्द भई समर्पित हुनुपर्ने कुरामा जोड दिदै ‘एक महिला एक यूरो’ भन्ने कार्यक्रमलाई विशेष जोडका साथ प्रकाश पारेकी थीइन् । यसरी एक महिला एक यूरो कार्यक्रम मार्फत अहिले अरु विभिन्न देशहरुबाट संकलन भएको रकमले नेपालको दुर्गम ठाउँमा बसोवास गर्ने अधिकतम महिलाहरुको आङ खस्ने समस्या (रोग) को उपचार गरिएको र भविष्यमा यस कार्यक्रमलाई तिब्रता दिई विभिन्न खालको महिला स्वावलम्बन कार्यक्रमहरु समेत गरिने कुरा ब्यक्त गर्दै यस कार्यक्रमलाई सुचारु रुपले अगाडी बढाउनको लागि हरेक देशमा गैर आवासीय महिला फोरम गठन गर्नुपर्ने आवश्यकता भएकोले फ्रान्समा पनि एनआरएनए फ्रान्सकी महिला संयोजक पान कुमारी मल्ल (पार्वती मल्ल)को संयोजगत्वमा महिला फोरमको गठन गरिएको छ ।
कार्यक्रमको अन्तमा युरोपियन क्षेत्र महिला संयोजक श्रीमती संगीता मरहठा शर्माले, उपस्तिथ महिलाहरुसंग अन्तरक्रिया गर्दै उहाँहरुले राख्नुभएको जिज्ञासाहरुप्रति एनआरएनको स्पस्ट धारणा राख्दै महिलाहरुले झेल्नुपरेका सामाजीक समस्याहरु समाधानका लागि एकजुट भई हातमा हात मिलाउनु पर्ने कुरालाई जोड दिई भर्खरै गठन भएको एनआरएनए फ्रान्सको महिला फोरमले भविष्यमा नेपाली महिलाहरुको सामाजिक हितको लागी जुनसुकै काम गर्न पनि पछि नपर्ने कुराको प्रतिबद्ध जाहेर गर्दै यस महिला भेलाको समापन गरेकी थीइन् ।








