निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा

पोखरा- कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।

पोखरा–लेखनाथ नगर होटल रेष्टुरेन्ट तथा बार एशोसिएशन ( सिटी रेवान) पोखराले प्रदर्शनी केन्द्रमा आजदेखि सञ्चालन गरेको छैठौँ सिटी रेवान महोत्सव तथा खाद्य मेलाको उद्घाटन गर्दै यी दुई निर्वाचन सम्बन्धी कानून बनाएर निर्वाचन आयोगलाई दिइसकिएकाले निर्वाचन सुनिश्चित जस्तै भएको धारणा राख्नुभयो ।

मन्त्री थापाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि राष्ट्रपति, उप–राष्ट्रपति र राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन हुने भएकोले कानून मन्त्रालयले यिनीहरुको निर्वाचन सम्बन्धी कानून बनाउनेतिर ध्यान दिएको बताउनुभयो ।

पोखरा सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय नगर भएको उल्लेख गर्दै उहाँले नगर रेष्टुरेन्टले स्वादिष्ट र स्वस्थ्यकर खानाका परिकार खुवाएर विदेशी पाहुनालाई सधै आउँ÷आउँ जस्तो पार्नुपर्नेमा जोड दिनुभयो ।