लण्डन । सृजनशील नेपाली समाज युकेका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा समाजको दशौँ वार्षिकोत्सव शनिबार अल्डरसटमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए । सो अवसरमा बोल्दै राजदूत सुवेदीले सृजनशील नेपाली समाजलाई विगत सम्झेर लघुताभाष नहुन र वर्तमानलाई सम्झेर हीनताबोध नगर्न आग्रह गरे । उनले अहिलेको नेपाल पहिलेको जस्ता नरहेको र सामाजिक विभेदलाई अन्त्य गर्न संविधानमा धेरै प्रावधानहरु आइसकेको सन्दर्भ कोट्याउँदै अबको नेपाल उज्यालो नेपाल हुने धारणा व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा एनआर एनए युकेका उपाध्यक्ष शेर सुनारले आफ्नो पहिचानमा गर्व गर्नुपर्ने बताएका थिए भने एनआर एनए युकेका अर्का उपाध्यक्ष प्रेम गाहामगरले समाजलाई दशौँ वार्षिकोत्सवको शुभकामना दिए ।
त्यसैगरी ओभरसिज नेपलिज फोरम, युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले समाजमा हुने विभेदका विरुद्ध लड्न आफू साथै रहने प्रतिवद्धता व्यक्त गरेका थिए भने ग्रेटर रसमुर नेपाली समाजका अध्यक्ष जीव बेल्बासेले विगतका तीता अनुभव बिर्सेर समाजका सबै सदस्यसरह हुँ भन्ने मनोबल लिएर अघि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, लमजुङ समाज युकेका अध्यक्ष बोहत गुरुङ, गोरखा तमु समाजका अध्यक्ष फडकजीत गुरुङ, विश्वकर्मा सेवा समाज युकेका अध्यक्ष थाम विश्वकर्मा र समाजका सल्लाहकार श्यामलाल सुनारले शुभकामना दिएका थिए ।
नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले सृजनशील समाजका सदस्यहरुलाई पत्रकारिता तालिम दिलाउन सहयोग गर्ने र समाजले गर्ने कार्यक्रमहरुमा पत्रकारहरुको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु बिबी अनुरागी र मञ्जु बिक लगायतले भरपुर मनोरञ्जन प्रधान गरेका थिए । सो कार्यक्रमको संचालन भने समाजका संस्थापक महासचिव विकास रनपैलीले गरेका थिए । कार्यक्रममा हेल्थ एण्ड सेफ्टी सचिव दिलबहादुर नेपाली र उपाध्यक्ष राजकुमार सुनारले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।






