बाराका ३४ वर्षीय अन्सारी यस कारण त्याग्दैछन् नेपाली नागरिकता

bara-ctznकलैया- झुठा विवरण देखाएर नेपाली नागरिकता लिएको समाचार नौलो नभए पनि देशको अवस्थालाई कारणका रुपमा दर्शाएर नेपाली नागरिकता परित्यागका लागि प्रक्रिया अघि बढाएको घटना अनौठो नै लाग्न सक्छ ।

यस्तै घटना देखा परेको छ जिल्ला प्रशासन कार्यालय बारामा । राजनीतिक अस्थिरताका कारण मुलुक नै धरापमा परेको भन्दै बारा, बिशुनपुर गाविस–९ का ३४ वर्षीय नसरुलाह अन्सारीले जिल्ला प्रशासन कार्यालय बारामा नेपाली नागरिकता परित्यागको निवेदन दर्ता गराएका छन् ।

आइतबार उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउँदै आफ्नो नेपाली नागरिकता खारेजीको माग गरेका हुन् ।

उनले २०५६ असोज २० गते वंशज नागरिकता पाएका थिए । उनले नेपाली नागरिकता परित्याग गरी आफू भारतमा बसोबास गर्न जान लागेको बताए । भारत, बिहार राज्यको मोतिहारी जिल्ला अन्तर्गत छौडादानोस्थित ससुराली गाउँमै गएर बस्ने उनको भनाई थियो ।

आफूले पाँच वर्ष विदेशमा बसेर काम गरेको उल्लेख गर्दै उनले भने, ‘त्यहाँ पाँच वर्ष काम गरेर आउँदा पनि नेपालको हालत उस्तै छ, यही अवस्था रहेमा छोराछोरीले पनि दुःख पाउँछन्, त्यसैले म नेपाल छाडेर सदा भारतमा बस्न जान लागेको छु ।’

उनको निवेदन जिल्ला प्रशासन कार्यालयका बिचाराधिन छ ।