बेलायतका नेपाली इन्जिनियरलाई देश विकासमा योगदान गर्न आग्रह’[भिडियो /फोटो फिचर]

लण्डन । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा बसोबास गरिरहेका नेपाली इन्जिनियरहरुलाई देश विकासमा योगदान गर्न आग्रह गरेका छन्।

सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेद्वारा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि राजदूत सुवेदीले देशले राजनीतिक समस्याको निकास पाइसकेको बताए। “अब विदेशमा बस‌िरहेका डाक्टर, इन्जिनियर, प्राध्यापक, नर्स लगायत सबै कर्मयोगी नेपालीहरुले नेपालको विकासका लागि केही न केही योगदान गर्नुपर्छ,” उनले भने।

भारत, चीन, इजरेल आदि मुलुकको विकासमा ती देशका प्रवासी समुदायको योगदानको उदाहरण दिंदै राजदूत सुवेदीले देश विकासकालागि नेपाल नै फर्कनु पर्छ भन्ने छैन, नेपालको आर्थिक, सामाजिक विकासकालागि जहाँ रहेता पनि योगदान गर्न सकिने बताए। उनले लण्डनस्थित नेपाली दूतावासले हरेक वर्ष दुईवटा नेपाल विकास सम्मेलन आयोजना गर्न लागेको बताउँदै ती सम्मेलनमा सहभागी भै आफ्नो अनुभव र सीप बाँडन उनले विद्वत् वर्गलाई आहवान पनि गरे।

गैरआवासीय नेपाली संघ युकेका महासचिव इन्जिनियर राजकुमार त्रिपाठीले नेपाली इन्जिनियरहरुले विदेशमा सिकेको सीप र ज्ञान नेपालको विकासकालागि उपयोग गर्न तयार रहेको बताए। उनले गैरआवासीय नेपाली संघले संसारभरि रहेका गैरआवासीय नेपालीहरुको सीप र स्रोत नेपालको विकासमा लगाउन अभियान नै शुरु गरेको पनि जानकारी दिए।

कार्यक्रममा बेलायतमा कार्यरत इन्जिनियर तथा विज्ञहरुले ६ वटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए। बेलायतको आर्काडिस कंपनीमा कार्यरत कन्सल्टिङ सिभिल इन्जिनियर डा. विनोदलाल अमात्यले दीर्घकालिनक हिसाबले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात् भूमिगत रेलसेवा नै चाहिन्छ,” उनले भने। मोनो रेलले काठमाडौंको यातायात समस्या समाधान गर्न सक्दैन, काठमाडौंका संपदाहरु, वायु प्रदूषण र अव्यवस्थित शहरीकरणका कारण मोनो रेल भन्दा भूमिगत रेलमै जानु आवश्यक छ, उनले भने।

त्यस्तै १५ वर्ष हङकङमा सुरुङ निर्माणको क्षेत्रमा काम गरेर हाल बेलायतमा कार्यरत इन्जिनियर विजय गुरुङले पनि पोखरा जस्तो पर्यटकीय शहरका लागि मोनो रेल एउटा संभाव्यता हुनसकेपनि काठमाडौंका लागि मेट्रो रेल नै चाहिने बताए। सरकारले प्रयास गर्ने हो भने विदेशी सहायता जुटाएर पनि नेपालमा भूमिगत रेल बनाउन सकिन्छ, उनले भने।

डा. वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा संपन्न पहिलो सत्रमा इन्जिनियर राजेश पाठकले लण्डनस्थित एउटा रेल परियोजनाको निर्माण व्यवस्थापकको रुपमा आफुले पाएको अनुभवबाट नेपालले के सिक्नसक्छ भन्ने प्रस्तुति गरेका थिए। त्यस्तै वरिष्ठ इन्जिनियर नारद भण्डारीले रेलेवे पूर्वाधार आयोजनाहरुमा गुणस्तर सुनिश्चितता गरिनुपर्ने विषयमा प्रस्तुति गरेका थिए।

कार्यक्रममा एसोसिएसनका महासचिव शैलेन्द्रकाजी श्रेष्ठले उपस्थित सम्पूर्ण सहभागीलाई स्वागत मन्तव्यका क्रममा
बेलायतमा रहेका नेपाली इञ्जिनियरहरुले गरेका कार्यको प्रसंसा गर्दै आफ्नो सीप,अनुभव र प्राविधिक ज्ञान प्रदान गर्न अपिल गरे ।

 

सदम्पटन सोलेन्ट विश्वविद्यालयका सहप्राध्यापक डा. रमेश मरासिनीको अध्यक्षता संपन्न दोश्रो सत्रमा वरिष्ठ इन्जिनियर कृष्णकिशोर श्रेष्ठले दोधारा चाँदनीमा पुल बनाएको अनुभवबारे प्रस्तुति दिएका थिए भने वरिष्ठ इन्जिनियरहरु घनश्याम पौडेल तथा कन्हैया भगत कोइरीले मायादेवी मन्दिरको पुनर्निर्माणको उदाहरण दिंदै संरचनागत समस्याहरु कसरी समाधान गर्न सकिन्छ भन्नेबारे प्रस्तुति दिएका थिए। आफ्नेा प्रस्तुतिमा स्वानसी विश्वविद्यालयमा अनुसन्धान गरिरहेका रामहरि पौड्यालले सरकारले उपयुक्त नीति ल्याएमा नेपालमा ६ महिनाभित्रै २०० मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने बताए। उनले जलस्रोतकासाथै सौर्य र हावाबाट विद्युत निकाल्ने प्रविधिको विकासमा जोड दिन पनि सुझाव दिए।

युनेस्कोको पेरिसस्थित मुख्यालयमा कार्यरत जलस्रोतविद् डा. अनिल मिश्रले नेपालीहरुले हामी जलस्रोतमा धनी छौं भन्ने अवधारणा हटाउनु पर्ने बताए। नेपालमा वर्षातका तीन महिनामा मात्रै पानी अत्यधिक हुने तर बाँकी नौ महिना पानीको अभाव हुने भएकाले त्यो अवधिमा पानीको कसरी व्यवस्थापन गर्ने भन्ने तर्फ सबैको ध्यान जानुपर्ने बताए। उनले जमीनमुनिबाट जथाभावी पानि झिक्ने प्रचलनले समस्या पैदा गरेको र पानी उपयोगको परंपरागत ज्ञान बिर्संदै गएकोमा दुख पनि व्यक्त गरे। “अहिले प्रविधि उपलब्ध छ, अन्तरिक्षबाट प्राप्त हुने तथ्याङ्कको पनि उपयोग गर्न सकिन्छ, तर मुख्य चुनौती भनेको वैज्ञानिक सूचना र ज्ञान सर्वसाधारण जनतामा कसरी स्थानान्तर गर्ने भन्ने नै हो,” उनले भने।

नेपाल सरकार तथा विश्व बैङ्क लगायतका संस्थामा लामो समय काम गरेका वरिष्ठ इन्जिनियर सुरेन्द्र गोविन्द जोशीले स्वास्थ्य, शिक्षा, गरीबी निवारणको क्षेत्रमा बितेका केही दशकहरुमा नेपालले राम्रो प्रगति गरेको बताए। “इन्जिनियरहरुले प्राविधिक पक्षमात्रै नहेरेर देशको सामाजिक, आर्थिक अवस्था र राष्ट्रिय विकासका प्राथमिकताहरुलाई पनि ख्याल गर्नुपर्दछ,” उनले भने।

सोसाइटी अफ नेप्लीज इन्जिनियर्स युकेका अध्यक्ष घनश्याम पौडेलले सबै कार्यपत्र प्रस्तोता, सहभागी तथा आमन्त्रितहरुलाई  सहभागिताकालागि धन्यवाद दिएका थिए।

कार्यक्रमको स्थलगत भिडीयो रिपोर्ट हेर्नुस–