काठमाडौं– पार्टी एकता संयोजन समितिको ब्यानरमा एमाले–माओवादी केन्द्रले आईतबार संयुक्त कार्यक्रम गर्दैछन् ।
काठमाडौको राष्ट्रिय सभा गृहमा अपरान्ह हुने कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संयुक्त रुपमा सम्बोधन गर्न लागेका हुन् ।
आजको सम्बोधनमा दुवै नेताले पार्टी एकताबारे भइरहेको ढिलाईका बारेमा समेत जानकारी गराउने बताइएको छ । यसअघि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर पार्टी एकताको घोषणा गर्ने भनिएपनि केही विषयमा सहमति जुट्न नसक्दा आज हुने भनिएको पार्टी एकता घोषणा स्थगित भएको छ ।
पूर्व निर्धारित योजनाअनुसार आइतबार पार्टी एकता घोषणा नहुने भएपछि दुवै पार्टीका शीर्ष नेताले एकै स्थानबाट सम्बोधन गरेर नेता कार्यकर्तालाई आश्वस्त पार्ने बुझिएको छ । उनीहरुको आजको सम्बोधनमा चाँडै पार्टी एकता हुने सन्देश दिने बुझिएको छ ।
गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसदमा बहुमत पाएर नयाँ सरकारसमेत बनाइसकेका छन् ।
तर, जनयुद्ध शव्द, निर्वाचन चिन्ह र संख्यामा कुरा नमिल्दा पार्टी एकता घोषणामा भने ढिलाई भइरहेको छ ।






