काठमाडौं । देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ।उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ । त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
चन्द्रागिरीमा हिउँ
यस्तै राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात भएको छ ।
रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।
यस्तै हिमाली क्षेत्रहरुमा पनि हिमपात भएको छ । हिमाली क्षेत्रमा भएको हिमपातले जनजीवन कष्टपूर्ण भएपनि किसानहरु भने खुशी भएका छन् ।
तस्वीरहरु














