शिब भण्डारी
लण्डन । २५६३ औं बुद्ध जयन्ती लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा भव्यरुपमा मनाइएको छ । आइतबार साँझ विदेशीहरुकोसमेत उपस्थितिमा सयौं नेपाली समूदायले बुद्ध जयन्ती मनाए । साँझ ६ बजे देखि ९ बजेसम्म ट्राफलगर स्क्वायरमा सयौंको उपस्थितिमा बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन, प्रवचन, शुभकामना आदानप्रदान, विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमको प्रस्तुतिका साथै नेपालको पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम पनि गरिएका थिए ।
बेलायतका विभिन्न क्षेत्रबाट ६ सय बढि नेपालीहरु सहभागी बनेको कार्यक्रममा धार्मिक पूजा, शान्तिदीप प्रज्वलन, गौतम बुद्ध र लुम्बिनीसम्बन्धी प्रिजेन्टेसनहरुको साथै विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति गरिएको थियो ।
बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले लण्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड , गैरआवासीय नेपाली संघ लगायतको सहकार्यमा कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रमका लागि लण्डन र आसपासबाहेक मिडल्याण्ड र स्कटल्याण्डबाट समेत केहि सहभागी लण्डन आएका थिए ।
धार्मिक मन्त्रोचारणसहित पूजाबाट कार्यक्रम सुरु गरिएपछि नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएको थियो । त्यसअवसरमा स्वागत मन्तव्य राख्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भन्नेमा संयुक्त राष्ट्रसंघ समेत स्पष्ट रहिसकेको अवस्थामा यसबारेमा कुनै भ्रम वा आशंका राख्नुको औचित्य नरहने तर्क गरे । राजदूत सुवेदीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आव्हान गरे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा डा ह्दयरत्न बज्राचार्य सहभागी थिए । डा बज्राचार्यले गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीको विषयमा विशेष जानकारीमुलक प्रस्तुति गरेका थिए । त्यस्तै, दक्षिण एशियाली मुलुकहरुको पुरातत्वसम्बन्धी विषयमा विशेष खोज, अनुसन्धान गरेका डुरह्याम युनिभर्सिटीका प्राध्यापक रोबिन कनिंगहमले समेत एक प्रिजेन्टेसन गरेका थिए ।
नेपाल मामिला हेर्ने बेलायती संसदको सर्वदलीय समितिका संयोजक एवम सांसद विरेन्द्र शर्माले बुद्धको शान्ति सन्देश आजको विश्वका लागि झन् बढि सान्दर्भिक बनेको बताए । समारोहमा रोयल बरो अफ केंसिंगटन एण्ड चेल्सीकी मेयर मेरी टेरेस रोसी, रशमुर बरो काउन्सिलका काउन्सिलर पल टेलर, एनआरएन युकेका अध्यक्ष योगकुमार फगामी लगायतका वक्ताहरुले पनि आफ्नो मन्तव्य दिएका थिए।
आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले बुद्धको सन्देशलाई सारा विश्वमाझ अझै व्यापक बनाउने तथा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको उद्धेश्य रहेको बताउँदै कार्यक्रमका सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिएका थिए।
कार्यक्रमका प्रमुख संयोजक शिवजी श्रेष्ठले कार्यक्रमको लक्ष्य र उद्धेश्यबारे बारे जानकारी गराउदै बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमाझ शान्तिको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै त्यसका लागि सहयोगको आव्हान गरे।
कार्यक्रममा विभिन्न काउन्सिलको प्रतिनिधित्व गर्ने बेलायती काउन्सिलरहरु अतिथिका रुपमा सहभागी थिए । कार्यक्रमस्थलमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी विभिन्न प्रचार सामग्रीहरु वितरण गरिएको थियो ।यसैगरी कार्यक्रममा अरुण स्वामीजिको अडियो सन्देश सुनाइएको थियो ।

कार्यक्रममा राजदूत डा दुर्गाबहादुर सुवेदी, बुद्ध फाउण्डेसन अध्यक्ष दिपक श्रेष्ठ, कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुंवर, कार्यक्रम संयोजक शिवजी श्रेष्ठ तथा सहसंयोजकद्धय ह्यारी गुरुङ र जिवन सेन लगायतले कार्यक्रमका प्रमुख तथा विशेष अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा सिम्मी पुनको संयोजनमा विभिन्न गीत, नृत्य,सहितका सांस्कृतिक कार्यक्रमहरु देखाइएको थियो ।त्यसअवसरमा कलाकारहरु सुशिल प्रजापति , विनोद चिपालु र टिसा प्रजापतिले भैरव , कुमारी र लाखेनाचको फ्युजनमा एक विशेष प्रस्तुति गरेका थिए ।
सयपत्री कल्चर समुहले सारंगीवादन गरेको थियो भने गायिका शर्मिला बर्देवाले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । यसै गरि मुस्कान घिमिरे लगायत विभिन्न कलाकारले आकर्षक नृत्यहरु देखाएका थिए ।
कार्यक्रम लक्षुमन गुरुङ र गौमाया गुरुङले सञ्चालन गरेका थिए । बुद्ध फाउण्डेसन कोषाध्यक्ष राजन खकुरेलले सहयोगदाताहरुको नाम पढेर सुनाएका थिए ।






















