लन्डन । काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध जयन्तिलाई विश्व ध्यान दिवसको रुपमा मनाउन आह्वान गर्नुभएको छ। २५६३ औं बुद्ध जयन्तिको अवसरमा दिनुभएको एक संदेशमा स्वामी अरुणले इशाई, इस्लाम तथा हिन्दु धर्मले प्रार्थना र पुजालाई जोड दिएको तर बुद्ध धर्ममा ध्यानलाई जोड दिइएको बताउनु भयो। उहाँले भगवान बुद्धले ध्यानका साथै शील, समाधि र प्रज्ञाको अभ्यासद्वारा आत्मरुपान्तरण गर्ने शिक्षा सिकाउनु भएको बताउनु भयो।
विश्व स्वास्थ्य संगठनले सन् २०२७ सम्ममा तनाव विश्वमै मानिसहरुको मृत्युको एउटा प्रमुख कारण हुनसक्ने चेतावनी दिएको बताउंदै स्वामी अरुणले अव्यस्थित जीवनशैलीका कारण संसारभरि नै तनाव एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा देखिएको बताउनु भयो। “कुनै औषधि खाएर तपाईंले तनाव निवारण गर्न सक्नु हुन्न। यसका लागि जीवन शैली व्यवस्थापन र ध्यान नै एकमात्र उपाय हो,” उहाँले भन्नुभयो।
स्वामी अरुण ले भारत सरकारको पहलमा संयुक्त राष्ट्र संघले जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन शुरु गरेको स्मरण गर्दै बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्र संघमा लैजान नेपाल सरकारलाई आग्रह पनि गर्नु भयो। “आफ्नो जीवनलाई शान्त र सुखी बनाउन हरेक व्यक्तिले प्रत्येक दिन कम्तिमा २० मिनट ध्यान गर्नुपर्दछ। त्यस्तै विश्व नेताहरुले पनि नियमितरुपमा ध्यान गर्न शुरु गर्ने हो भने संसारभरि युद्ध, द्वन्द्व र हिंसा धेरै हदसम्म समाप्त हुने थियो,” स्वामी अरुणले भन्नुभयो। संसारभरि सबै मुलुक, शहर र राज्यहरुले ध्यानको अभ्यास गर्न मानिसहरुलाई प्रोत्साहित गर्न आवश्यक भैसकेको बताउंदै स्वामी अरुणले ध्यानलाई विद्यालयहरूका पाठ्यक्रममा राख्न आग्रह पनि गर्नुभयो।
लन्डनको ट्राफलगर स्क्वायरमा आइतबार बेलुका आयोजित बुद्ध जयन्ती समारोहमा पनि स्वामी अरुणको संदेश सुनाइएको थियो।






