काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला जनकपुरको पनि भ्रमण गर्ने भएपछि त्यसको तयारीमा नेपालस्थित भारतीय दूतावास लागेको छ ।
नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीसहितको एक टोली आज जनकपुर प्रस्थान गरेको छ ।
टोलीले त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिने दूतावास स्रोतले जनाएको छ ।
पुरी जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग मुख्यमन्त्रीको कार्यालयमा छलफल गर्ने समेत बताइएको छ ।
साँझ पुरीले प्रदेश दुईका सबै मन्त्री तथा मुख्य दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको दूतावास स्रोतले जनाएको छ ।
दूतावासको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे सुरक्षा अधिकारीसँग पनि छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्री मोदीले यसअघि नेपाल भ्रमणमा आएको बेला जनकपुर भ्रमण गर्न सकेका थिएनन् ।
त्यतिबेला उनले अर्को पटक आउँदा आउँदा जनकपुर जाने बताएका थिए ।
प्रधानमन्त्री मोदीले मुक्तिनाथको पनि दर्शन गर्ने बताइएको छ ।
भारतीय मिडियाका अनुसार मोदीले आगामी मे ११ मा नेपाल भ्रमण गर्ने छन् ।






