गुल्मी जिल्ला समाज यूकेले बाँड्यो गुल्मीमा ७ लाख ५० हजारको पीपीई (फोटो फिचर)

शिब भण्डारी

लन्डन ।बेलायत स्थित परोपकारी कार्यहरुका कारण एक उदाहरणीय संस्थाका रुपमा स्थापित गुल्मी जिल्ला समाज यूकेले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै गुल्मी जिल्लाका सबै स्वास्थ्य केन्द्रलाई तथा जिल्लाका अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ ।समाजले ७ लाख ५० हजार रुपैयाँ पर्ने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) पठाएको हो ।

समाजले बिहिबार दिउसो गुल्मीको सदरमुकाम तम्घास स्थित जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई ७ लाख ५० हजार मुल्य बरावरको स्वास्थ्य सामग्रि सहयोग गरेको छ । जिल्ला सदरमुकाम तम्घास स्थीत आइसोलेसन सेन्टर सहित पाँचवटा स्थानीय तहका स्वास्थ्य केन्द्रलाई अत्याधुनिक स्वाब संकलन क्लिनिक कक्ष सहितका सामग्रि सहयोग गरेको हो । स्थानीयतह अन्र्तगत रेसुंगा नगरपालीका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई एक,एक थान अध्याधुनिक स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको हो ।

समाजको तर्फवाट गुल्मी जिल्लाका अन्य सातवटा स्थानीय तहलाई समेत कोरोना बिरुद्ध प्रयोग गरिने २०/२० थान पीपीइ सेट र दुईदुई थान थर्मलगन समेत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । गुल्मी अस्पताललाई पनि समाजको तर्फवाट २० थान पीपीइ सेट र दुई थान थर्मलगन प्रदान गरिएको थियो ।

त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई एक/एक थान केएन नाइन्टीफाइप माक्स प्रदान गरिएको थियो ।

समाज मार्फत प्राप्त सवै सामग्रीहरु गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेका थिए । गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा समाजको तर्फवाट विगतमा धेरै सहयोग पुराउँदै आएको बताए ।

सामग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभुमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनीय भएको भन्दै गुल्मी जिल्ला समाज युकेलाई विषेश धन्यबाद व्यक्त गरेका थिए ।

तस्बिर सौजन्य : जनार्दन घिमिरे

यस अघि समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा बसेको कार्यसमितिको भर्चुअल बैठकले कोरोना महामारीको संक्रमण रोक्ने प्रयासमा पीपीई सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले सहयोगका लागि संयोजन गर्न समाजका अध्यक्ष पल्लीको संयोजकत्वमा एक समिति समेत गठन गरेको थियो । समितिमा महासचिव बीर बलाल र कार्यसमिति सदस्यहरु राधा खरेल, मुकुन्द खरेल, भिम खनाल र बाबुराम भण्डारी सदस्य छन् ।

जनस्वास्थ्य कार्यालय गुल्मीसंगको समन्वयमा जिल्लाका सबै क्षेत्रस्थित स्वास्थ्य केन्द्रमा सहयोग गरिएको समाजका महासचिव बीर बलालले
बताए ।

यस आघि पीपीई सहयोगका लागि आवश्यक कोष जुटाउनको लागि समाजका उपाध्यक्ष तारानाथ भण्डारीको संयोजकत्वमा कोष संकलन समिति गठन गरिएको थियो । समितिमा मिडिया संयोजन सचिव मञ्जु भण्डारी,कोषाध्यक्ष वरुण भण्डारी,स-कोषाध्यक्ष तारा भट्टराई कार्यसमिति सदस्यहरु महलाल शर्मा, भोजराज भण्डारी र कमला भण्डारीलाई सदस्य राखिएको हो ।समाजले कोरोना महामारीको अवस्थालाई ध्यानमा राख्दै समाजका ट्रस्टी, सल्लाहकार र कार्यसमितिका पदाधिकारीहरुको सहयोगमा कोष जुटाएको हो।

समाजका अध्यक्ष टोप पल्लीले समाजको पहलमा रकम जम्मा गरेर समाजले आफ्नो गृहजिल्ला लाई कोरोना महामारीका बेला सक्दो सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

महामारीका बेला जिल्लाबासीको स्वास्थ्य सुरक्षाका लागि दिनरात खटिएका स्वास्थ्यकर्मीहरुको निम्ति पीपीई खरिदका लागि समाजले शुरु गरेको अभियानमा सहयोग गर्ने सबैमा धन्यवाद दिए ।

नेपालको गुल्मी जिल्लामा घर भई बेलायतमा बसोवास गर्दै आई रहेका नेपालीहरुले सन २००७ मा संस्थापक अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता गुल्मी जिल्ला समाज यूकेको स्थापना गरेर यस्तै कार्यमा एउटा उदाहरण प्रस्तुत गर्दै आईरहेका छन्।

नेपालमा आईपर्ने प्राकृतिक प्रकोप तथा अन्य परोपकारी कामका अलावा गुल्मी जिल्ला समाज यूकेले नेपालको गुल्मीमै सञ्चालित आशा अपांग केन्द्रको सहकार्यमा असहाय अपांगलाई पुनर्जीवन दिन गर्दै आएको कामले भने एउटा उदाहरण र उत्प्रेरणाको रुपमा चर्चा पाउने गरेको छ ।

भिडीयो हेर्नुहोस लन्डन नेपाल न्युजका लागि गुल्मी बाट तारा भुसालको एक स्थलगत लाईभ रिपोर्ट :