आन्दोलन र हिंसाको धम्की नदिन चेतावनी

काठमाडौं, फाल्गुन १६ । प्रधानमन्त्री सुशील कोइरालाले वीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिबाट आफू अगाडि बढ्न चाहेको प्रष्ट पारेका छन् । वीपी कोइरालाको ऐतिहांसिक फोटो प्रदर्शनी तथा पदयात्राको आज आफ्नै निवास बालुवाटारबाट शुभाराम्भ गर्दै प्रधानमन्त्री कोइरालाले सहमति र सहकार्यबाट आफूहरु पछाडि नहट्ने पनि बताए ।
उनले दलहरुकोबीचको सहमतिको विकल्प नभएको भन्दै संविधान निमार्णको लागि वार्तामा बस्न बिपक्षीलाई आग्रह गरे । प्रधानमन्त्री कोइरालाले डर, धम्कीबाट अब कोही नडराउने भन्दै आन्दोलन र हिंसाको धम्की नदिन चेतावनी पनि दिए । वीपी कोइरालाको फोटो प्रदर्शनी तथा पदयात्रा महाकालीपारीको चाँदनी दोधाराबाट सुरुवात हुनेछ । प्रदर्शनीमा वीपी कोइरालाको बाल्यकाल, विदेशभ्रमण, ऐतिहांसिक घटनाक्रमका फोटो राखिने छन् ।